चाँगुनारायणमा योगाश्रम निर्माण गरिने

काठमाडौं । विश्व दर्शन अभियान, नेपालले चालु आर्थिक वर्षमा भक्तपुरको चाँगुनारायण क्षेत्रमा योगाश्रम निर्माण गर्ने भएको छ ।

‘आफूलाई चिनौँ, बुझौँ आआफ्ना राष्ट्रलाई र जगाऔँ विश्वलाई’ नाराका साथ स्थापित अभियानले आफ्नो भवन निर्माण, प्रत्येक महिना सत्सङ्ग र आगामी मङ्सिर ३० गते बाल योग प्रशिक्षार्थीबीच प्रतियोगिता पनि आयोजना गर्नेछ ।

वि.सं. २०६९ पुस २७ गते राष्ट्रिय एकता दिवसमा ललितपुरमा दर्ता भएको संस्थाले कागेश्वरी मनोहरा, काठमाडौँ र चाँगुनारायण, भक्तपुरमा हरेक दिन योगसाधना कक्षा सञ्चालन गरिरहेको छ ।

भोजपुरका दुई युवा नारायणप्रसाद भट्टराई सोहम् र नवराज भट्टराई कोहम्ले विसं २०६५–०६७ मा ७३० दिनमा नेपालका सबै जिल्ला भ्रमण गरेपछि अभियान स्थापना गरी पूर्वीय दर्शनलाई अघि बढाउँदै आएको छ ।

कागेश्वरी मनोहरा, मूलपानीमा शनिवार आयोजित अभियानको वार्षिक साधारणसभामा गत आवको वार्षिक प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गर्दै अभियानका अध्यक्ष नारायणप्रसादले संस्थाले गृहस्थ धर्म निर्वाह गर्दै योगसाधना र संस्कृत कक्षा चलाइरहेको तथा योग प्रशिक्षक पनि तयार गरिरहेको जानकारी दिए ।

भान्सा सुधार तथा पञ्चगव्य अभियानकर्मी लीला श्रेष्ठले शरीर तथा मन, बुद्धि, इन्द्रिय स्वस्थ राख्न ऋतुअनुुसारका स्थानीय जैविक चामल, दाल, सागपातलगायत खाद्य वस्तु प्राकृतिक भाँडा, माटो, पित्तलमा पकाएर वा तयार गरेर खान जान्नुपर्ने तथा गौमाताबाट प्राप्त दूध, दही, घ्यू, गहुँतलगायतको सेवन गर्न जान्नैपर्नेमा जोड दिए ।

त्यसअवसरमा राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, अभियानका उपाध्यक्ष नवराज फुयाँल, सल्लाहकार तीर्थप्रसाद भट्टराई र शङ्कर चापागाईँ, ज्येष्ठ सदस्य इन्द्र कर्माचार्य र स्टार्ट लिभिङका तीरेश केसीले सकारात्मक सोच, योग र ध्यानबाट नै आफूलाई योग्य बनाई राष्ट्र र विश्वशान्ति कायम गर्न योगदान दिनुपर्नेमा जोड दिए ।

संस्थाका सहसचिव कविता ढुङ्गानाले योग, प्रार्थना र ध्यानमा सहजीकरण गरेको सो सभामा वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रमणि ढुङ्गानाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको थियो । कार्यक्रममा सदस्यहरूले जीवन विज्ञान प्रतिष्ठानले तयार गरेको गीतसङ्गीतमा नृत्य पनि प्रस्तुत गरेका थिए ।

संस्थाले भट्टराईद्वयद्वारा लिखित ‘नेपाल भ्रमणका ७३० दिन’, ‘विश्व–दृष्टि’ र ‘देखेको विश्व र नेपाल (भारत, भूटान र म्यानमार यात्रा संस्मरण)’ कृति पनि प्रकाशन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + four =