मीनबहादुरबाट जग्गा दान लिएको विषय सर्वोच्चमा

काठमाडौं । नेकपा एमालेले नयाँ पार्टी कार्यालय निर्माणका लागि भनी कीर्तिपुरमा लिएको जग्गाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका हुन् ।

सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको थियो । तर, न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मंगलबार दरपीठ बदर गर्दै दर्ता गर्न आदेश गरेको थियो । उक्त आदेशपछि रिट दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन गरेको भनिएको जग्गादान खारेज गर्न माग राखी दायर गरिएको रिट सर्वोच्च अदालतले ग्रहण गरी आज पेसी तोकेको छ ।

जग्गादान गर्ने गुरुङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गरिरहेको अवस्थामा प्रधानमन्त्रीको दललाई जग्गादान गर्नु भ्रष्टाचार रहेको अभियोग निवेदकले लगाएका छन् । ‘..प्रधानमन्त्री केपी ओलीले कानुनविपरीत रिसवत अर्थात् घुस लिएको स्पष्ट छ । प्रधानमन्त्री आफैँ शिलान्यास कार्यक्रममा उपस्थित भएर कसैले दिएको दान, दातव्य स्विकार्नु भनेको भ्रष्टाचारका दृष्टिकोणले अक्षम्य अपराध हो’ रिटमा छ ।

भाटभटेनी सुपरस्टोरका सञ्चालक गुरुङले गत असोज २५ गते काठमाडौंको कीर्तिपुर–२, मैत्रीनगरमा नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन १० रोपनी १४ आना जग्गा दिएको घोषणा गरेका थिए । त्यही दिन एमाले अध्यक्ष ओली र गुरुङ दम्पतीले भवनको शिलान्याससमेत गरेका थिए । हालको प्रचलित बजार मूल्यअनुसार उक्त जग्गाको मोल ७० करोड हाराहारी हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =