व्यापारीको सहयोगले पार्टी कार्यालय बनाइनु गलत हो : विन्दा पाण्डे

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले व्यापारी मीनबहादुर गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिनु गलत भएको बताएकी छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेकी छन्,“साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो ।”
उनले अगाडि भनेकी छन्,“दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ,” । उनले तत्काल यो गतल निर्णय सच्चाउन आग्रह गरेकी छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि भवनको शिलान्यास गरेका थिए । उक्त भवन भाटभटेनी सुपरस्टोरका मीनबहादुर गुरूङले बनाइदिन लागेका हुन् । भवन शिलान्यासमा गुरूङ दम्पत्ति पनि सहभागी थिए ।
सम्बन्धीत समाचार : प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरमा एमाले मुख्यालय भवन शिलान्यास









नेकपा (एमाले ) जस्तो पार्टीलाई एउटा व्यापारीको मुट्ठीमा सिमित गर्नु लज्जास्पद छ ।