नेपालमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न भारत सकारात्मक छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सर्पदंशका बिरामीको लागि उपचार केन्द्र स्थापना गर्न भारत सरकारले सहयोग गर्ने बताएका छन् ।

बुधवार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को क्षेत्रीय बैठकबाट फर्किएपछि विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा सर्पले टोकेर हुने जोखमको उपचारका लागि उपचार केन्द्र बनाउन भारतले सहजीकरण गर्नेबारेमा भारतीय स्वास्थ्यमन्त्रीले प्रतिवद्धता जनाएको बताए ।

उनले क्षेत्रीय बैठकका क्रममा भारतीय स्वास्थ्यमन्त्रीसँग आफ्नो भेट भएको बताए । भेटमा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भारत सरकारले सञ्चालन गर्दै आएको एम्स अस्पतालसँग समझदारी भएर सहकार्य भइरहेका कामहरु बीचमा समयावधि सकिएका कारण रोकिएको स्थितिको अन्त्यका लागि प्रयास गरेको बताए ।

पुनः समझदारी गरेर एम्स र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बीचमा पहिलेको समझदारीलाई कायम गर्नेगरी मौखिक समझदारी व्यक्त भएको बताए ।

स्वास्थ्यमन्त्री पौडेलले डब्ल्युएचओसँग समन्वय गरेर नेपालमा चलिरहेका कार्यक्रमहरुलाई अझ बढी कसरी प्रभावकारी बनाउने र हेटौँडामा रहेको सरुवा रोग केन्द्रलाई डब्ल्युएचओको सहयोगमा अनुसन्धान केन्द्रका रुपमा विकसित गर्नेबारेमा छलफल भएको बताए ।

डब्ल्युएचओका रिजनल डाइरेक्टरले पनि सरुवा रोग केन्द्रलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको बताए ।

नेपालमा महिलाहरुमा हुने सर्भाइकल क्यान्सर (स्क्रिनिङ) को बारेमा डब्ल्युएचओले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त भएको बताए ।

नेपालमा डब्ल्युएचओको सहयोगमा सम्पन्न भएका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन अरु थप लगानी गर्ने बारेमा पनि छलफल भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =