अन्तिम ओभरमा चुक्यो नेपाल, नामिबियासँग ३ रनको पीडादायी हार
करणको ‘फाइफर’ र १०० विकेटको कीर्तिमान पनि खेर

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचमा जारी एकदिवसीय शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।
सोमबार राति भएको अत्यन्तै रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको हो। अन्तिम ओभरसम्म पुगेको खेलमा नेपाल जितको नजिक पुगेर पनि लक्ष्य पूरा गर्न असफल रह्यो।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको थियो। जवाफमा नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो र ३ रनले हार स्वीकार गर्न बाध्य भयो।
नेपालका लागि आसिफ शेखले ८९ बलमा ४५ रन बनाउँदै इनिङ्स सम्हाल्ने प्रयास गरे। कप्तान रोहित पौडेलले ४१ रन, आरिफ शेखले ३८ रन तथा कुशल भुर्तेलले ३४ रनको योगदान दिए। अन्तिमतिर गुल्शन झाले १० बलमा अविजित १९ रनको आक्रामक इनिङ्स खेले पनि टोलीलाई जितसम्म पुर्याउन पर्याप्त भएन।
अन्तिम ओभरसम्म रोमाञ्चक संघर्ष
नेपाललाई अन्तिम चार ओभरमा ४० रन आवश्यक थियो। ४७औँ ओभरमा ५, ४८औँ ओभरमा ७ र ४९औँ ओभरमा १२ रन जोड्दै नेपालले खेललाई अन्तिम ओभरसम्म तानेको थियो।
अन्तिम ६ बलमा १७ रन चाहिएको अवस्थामा नामिबियाका कप्तान जेरार्ड एरासमस बलिङमा आए। पहिलो बलमा लेगबाईबाट २ रन, दोस्रो बलमा आरिफ शेखले १ रन लिए। त्यसपछि गुल्शन झाले चौका प्रहार गर्दै नेपालको आशा जीवित राखे।
बाँकी दुई बलमा उनले समान २–२ रन जोडे। एरासमसले एक वाइड दिएपछि अन्तिम बलमा नेपाललाई ५ रन आवश्यक थियो। तर, अन्तिम बलमा गुल्शनले केवल १ रन मात्र लिन सके र नेपाल ३ रनले पराजित भयो।
नामिबियाका लागि ज्याक ब्रासेलले ३ विकेट लिए भने रुबेन ट्रम्पलम्यानले २ विकेट हात पारे। बायाँहाते स्पिनर बर्नार्ड स्कोल्जले १० ओभरमा केवल १४ रन खर्चेर अत्यन्तै किफायती बलिङ गर्दै नेपालको रनगति नियन्त्रण गरेका थिए, जसले खेलको नतिजामा निर्णायक भूमिका खेल्यो।
फ्रायलिंकको शतक, करणको ऐतिहासिक उपलब्धि
यसअघि नामिबियाका लागि जान फ्रायलिंकले १४९ बलमा ३ चौकासहित शानदार १०० रन बनाए। लाउरेन स्टिनकाम्पले ५९ रन जोडे। यी दुईबीच दोस्रो विकेटका लागि १३१ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो, जसकै आधारमा नामिबियाले प्रतिस्पर्धात्मक योगफल खडा गर्यो।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ५ विकेट लिए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको चौथो पाँच विकेट उपलब्धि हो। साथै उनी नेपालका लागि ओडीआई क्रिकेटमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडीसमेत बने। सोमपाल कामीले १ विकेट लिए। करणको उत्कृष्ट प्रदर्शन भए पनि टोलीलाई जित दिलाउन भने पर्याप्त हुन सकेन।
नेपालको चुनौती थप कठिन
यसअघि नेपाल नामिबियासँग ८ विकेट तथा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लिग–२ अंकतालिकामा नेपालको अवस्था थप दबाबपूर्ण बनेको छ। शीर्ष चारभित्र रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना पनि थप कमजोर भएको छ।
नेपालले अब यस शृङ्खलाको अन्तिम खेल बुधवार घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्नेछ। उक्त खेलमा जित निकाल्दै शृङ्खलाको सुखद अन्त्य गर्ने लक्ष्य नेपाली टोलीको हुनेछ।








