एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एजेन्सी । जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको कृत्रिम बौद्धिकता (एआई) मा आधारित डेटिङ एपले उल्लेखनीय परिणाम देखाएको छ । सन् २०२४ मा सुरु गरिएको उक्त एपमार्फत भेट भएका २६५ जोडीले विवाह गरिसकेका छन् ।

‘टोकियो एनमुसुबी’ नामक यो एप सेप्टेम्बर २०२४ मा सञ्चालनमा आएको थियो । विवाह गर्न इच्छुक करिब ७० प्रतिशत व्यक्ति म्याचमेकिङ प्रक्रियामा सक्रिय रूपमा सहभागी नभएको सरकारी सर्वेक्षणपछि उनीहरूलाई सहज रूपमा जीवनसाथी खोज्न सहयोग गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।

एपमा सहभागी हुन इच्छुक व्यक्तिले आफू कानूनी रूपमा अविवाहित रहेको प्रमाण पेश गर्नुपर्ने, अनलाइन अन्तर्वार्ता उत्तीर्ण गर्नुपर्ने लगायतका मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ । यसबाट विवाहप्रति गम्भीर उद्देश्य भएका व्यक्तिमात्र सहभागी हुने वातावरण बनाइएको सरकारको भनाइ छ ।

यस वर्ष जुन ३० सम्म एपमा करिब ३६ हजार आवेदनमध्ये १६ हजार सदस्य दर्ता भएका छन् । सरकारी तथ्याङ्कअनुसार हाल ७६० जोडी गम्भीर प्रेम सम्बन्धमा छन् भने २६५ जोडीले विवाह गरिसकेका छन् ।

सरकारले सार्वजनिक गरेको अनुभवमा ‘टर्टल’ नामबाट चिनिएकी एक महिलाले आफ्नो ४०औँ जन्मदिन नजिकिँदै गर्दा यसलाई ‘अन्तिम अवसर’ ठानेर एप प्रयोग गरेको बताएकी छन् । उनका अनुसार धेरै ब्लाइन्ड डेटपछि अगस्टको अन्त्यतिर वर्तमान पतिसँग भेट भएको, सेप्टेम्बरको मध्यदेखि गम्भीर सम्बन्ध सुरु भएको र डिसेम्बरको अन्त्यमा विवाह प्रस्ताव स्वीकार गरिएको थियो ।

एपमार्फत जीवनसाथी भेट्टाउन सफल अर्का एक प्रयोगकर्ता ‘स्काइट्री’ ले एआईले सम्भावित जोडीसँगको अनुकूलता चरणबद्ध रूपमा देखाउने भएकाले भेट गर्ने निर्णय लिन सहज भएको बताएका छन् । उनका अनुसार आफ्नी प्रेमिकासँगको एआई अनुकूलता मूल्याङ्कन अत्यन्त उच्च रहेको थियो ।

यसबीच, जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२५ मा जापानी नागरिकबाट जन्मिएका शिशुको सङ्ख्या घटेर छ लाख ७१ हजार २३६ मा पुगेको छ । यो सङ्ख्या लगातार दशौँ वर्षको वार्षिक गिरावट हो । सोही अवधिमा मृत्यु सङ्ख्या १६ लाखभन्दा बढी पुगेको छ भने प्रजनन दर १.१५ बाट घटेर १.१४ मा झरेको छ । यद्यपि विवाहको सङ्ख्या भने केही बढेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =