त्रासकाबीच यात्रा गर्दै नागरिक,कहिले खुल्छन् अवरुद्ध सडक ?

काठमाडौं । यस वर्षको दशैं यही असोज २६ गते मनाइँदैछ । बिहीबार घटस्थापनाका दिनदेखी नेपालीहरुको महान् पर्व दशैं सुरु भइसकेको छ । दशैं सुरु भएसंगै काठमाडौं उपत्यकाबाट घर फर्कनेहरुको लर्को नै लागिरहेको छ ।

उपत्यकाका बस पार्कहरुमा घर जानेहरुको संख्या दिनहुँ बढिरहेको छ । गत असोज १२ गते शनिवारदेखी दशैं तिहारका लागि बसको अग्रीम टिकट खुला गरिएसंगै बसपार्कमा अहिले घर जानेहरुको भीड नै लाग्ने गरेको छ ।

तर,गत असोज ११ र १२ गते अविरल वर्षा संगै आएको बाढी पहिराका कारण अहिले देशभरका विभिन्न सडकहरु अवरुद्ध छन् । र, पनि नागरिकहरु दशैंको आगमनसंगै त्रासकाबीच घर जान बाध्य छन् । अवरुद्ध सडक चाँडो सञ्चालनमा आइदिए यात्रा सहज हुने अपेक्षा उनीहरुको छ ।

दशैंमा उपत्यका छाड्ने बढ्दै,बाहिरिए ४ लाख ४६ हजार

नेपालीहरुको महान पर्व दशैं मनाउन राजधानी काठमाडौंबाट गृह जिल्ला फर्किनेको चाप बढ्न थालेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबारसम्म ४ लाख बढीले उपत्यका छाडेका छन् ।

आज विहानसम्म ४ लाख ४६ हजारले उपत्यका छाडेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी रविन कार्कीले मकालुखबरलाई बताए । उनका अनुसार बस,ट्रक,मोटरसाईकल लगायत सवारीसाधनमार्फत उक्त संख्यामा नागरिकहरुले उपत्यका छाडेका हुन् ।

असोज ११ र १२ गते वर्षासंगै आएको बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि यसपटक उपत्यका छाड्नेको संख्यामा कमी आएको छ । असोज १४ गते पछि मात्रै नागरिकहरु बाहिरिएको डिएसपी कार्कीको भनाई छ ।

यता भौतिक पूर्वाधार मन्त्रालयले भने दशैं अगाडि सडक खुलाउन सम्भव नरहेको बताएको छ । मन्त्रालयले दशैं अगाडि विपी राजमार्ग खुल्ने अवस्था नरहेको जनाएको हो ।

आइतबारसम्मको तथ्यांक अनुसार विपी,अरनिको लगायतका राजमार्ग तथा भीमफेदीकुलेखानी फाखेल,सिस्नेरी दक्षिणकाली सडक,कान्तिलोकपथ, बाह्रबिसे तातोपानी सडक अझैं पनि अवरुद्ध छन् ।

नेपाल प्रहरीका अनुसार उपत्यका सहित बागमती,कोशी,लुम्बिनी प्रदेशमा विभिन्न जिल्लाका सडकहरु अवरुद्ध छन् । यद्यपि कतिपय सडक सुचारु समेत भइसकेका छन् भने अझै अवरुद्ध सडकहरु खुलाउने प्रयास जारी छ ।

यस्तै अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै २५ अर्ब बराबरको क्षति भएको छ । भौतिक मन्त्रालयका अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात सञ्चालन गर्न मात्रै झण्डै ३ अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ ।

क्षति भएका सम्पूर्ण संरचनाको स्थायी रुपमा पुनस्थापना गर्न २० देखी २५ अर्ब बराबर लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 14 =