स्नानको क्रममा खोलाले बगाउँदा एक वृद्धा बेपत्ता

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका–६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा आज खोलाले बगाउँदा एक जना तीर्थयात्री बेपत्ता भएका छन् ।

मन्दिर परिसरमा रहेको सूर्यमति (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाँउपालिका–३ स्थायी ठेगाना भएर हाल काठमाडौँ बस्ने हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

उनका अनुसार परिवारको साथमा मन्दिर दर्शनको लागि आउनुभएका ७२ वर्षीय अधिकारीलाई स्नानको क्रममा खोलाले बगाएपछि खोजी कार्य भइरहेको छ ।खोलाले बगाए लगत्तै थालिएको उद्धार र खोजतलास जारी रहेको छ ।

उनको अवस्था अपराह्नसम्म पत्ता लाग्न नसकेको सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए । हराइरहेका वृद्धालाई खोजतलासमा सहयोग पुर्‍याउन गाउँपालिकाले आह्वान गर्दै उनलाई फेला पार्ने व्यक्तिलाई प्रसंशा स्वरुप रु ५० हजार नगद दिने घोषणा गरेको छ ।

बाढीका कारण खोलाको बहाव ठूलो भएको र पानी धमिलो भएकाले खोजतलासमा सुरक्षा अधिकारीहरूलाई समस्या भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 19 =