त्रिशूली– १ जलविद्युत आयोजनाको साइट कार्यालयमा तोडफोड, दातृ निकाय चिन्तित

काठमाडौं । निर्माणाधीन माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको साइट कार्यालयमा तोडफोड भएको छ । शुक्रवार आयोजना कार्यालयका कर्मचारीहरूलाई बन्धक बनाई तोडफोड गरिएको हो ।
मजदुरको हकहितको लागि भइरहेको आन्दोलनमा कार्यालयमा तोडफोड भएको हो ।
प्रत्यक्ष दर्शीहरूका अनुसार आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि,आयोजनाको ईपीसी ठेकेदार दुसान ईनरबिलिटी र आयोजनाको सब कन्ट्रयाक्टर पावर चाइना कम्पनीका नेपाली तथा विदेशी कर्मचारीहरूलाई बन्धक बनाई तोडफोड भएको जनाइएको छ । साइट अफिस तथा आवासमा ढुङ्गा प्रहार गर्दा केही झ्याल तथा ढोकाका सिसाहरू फुटेका छन् ।
आन्दोलनरत मजदुरको ढुङ्गा प्रहारबाट चार जना प्रहरी पनि घाइते भएका छन् । घाइते सुरक्षाकर्मीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
आमाछोदिङ्मो र उत्तरगया गाउँपालिका लगायत चार वटा पालिकालाई छोएर निर्माणाधीन अवस्थामा रहेको कार्यालयमा तोडफोड भएपछि दातृ निकाय चिन्तित भएका छन् ।
सम्भवतः नेपालको लगानी इतिहासमै सबै भन्दा ठुलो लगानी करिब २३ अर्ब रूपैँया भित्रिएको हप्ता दिनमै विदेशी वित्तीय संस्थाबाट लगानी गरिएको यो आयोजनामा भएको घटनाले दातृ निकायको मनोबल नै खस्किएको बताइएको छ ।
हाल आयोजनाको सिभिल र मेकानिकल तथा इलेकट्रोनिक कार्यमा गरि करिब १ हजार जना बढी स्थानीय तथा बाह्य कामदारहरू आयोजनामा काम गरिरहेका छन् ।
आयोजनाको माथिल्लो तहका कर्मचारीका अनुसार नेपालको श्रम ऐन मात्र नभएर आयोजनामा ऋण लगानी गर्ने विश्व बैंकको भगिनी संस्था आईएफसी र एडिबी तथा अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको नियम अनुसार नै कामदारहरूको सेवा सुविधामा परिमार्जन गरिएको छ । तर पनि मजदुरले अनावश्यक आन्दोलन गरिरहेको ती कर्मचारीले बताए ।
उनका अनुसार कामदारहरूको तलब भत्ता मात्र नभएर खानपान बसाई बिदा लगायत सबैमा क्षेत्रमा न्याय हुने गरि परिमार्जन गरिएको छ ।
‘आयोजनाको सब कन्ट्रयाक्टरहरूबाट कुनै खाले कैफियत भएको भएमा वा चित्त बुझ्दो अवस्था नभएको भए वार्ता र संवाद मार्फत समस्या सुल्झाउनु पर्ने थियो,’ती कर्मचारीले भने,‘अचानक विभिन्न अवसर लिन चाहनेहरूले श्रमिकको नाममा आयोजनाको कार्यालय र सवारी साधनहरू कर्मचारीहरूको आवास तथा कर्मचारीहरू माथि नै आक्रमण भयो ।’
आयोजनाले अहिले सम्म नेपालमा श्रमिकहरूलाई यस आयोजनामा जस्तो सेवा सुविधा र हकहित अन्य आयोजनामा नभएको दाबी गरेको छ ।
कुनै कमी कमजोरी भएको भए छलफल बाट टुङ्गो लगाउनु पर्नेमा नेपालमा लगानी वातावरण नभएको भन्ने सोचेर लगानीकर्ताहरू आउन डराई रहेको अवस्थामा यस खाले गतिविधि गर्दा नेपाल लगानी मैत्री देश होइन भन्ने सन्देश गएको आयोजनाको बुझाई छ ।
यता, आन्दोलनमा सहभागी एक श्रमिकले आफूहरूले खाइपाइ आएको सेवा सुविधामा कमी भएको बताएका छन् । उनले आयोजनाको चिनियाँ सब कन्ट्रयाक्टर पावर चाइनाको व्यवस्थापन पक्षलाई जानकारी गराउँदा पनि बेवास्ता गरेको कारण बाध्यतावश मजदुरहरू आक्रमणमा उत्रिनु परेको बताए ।
तर मजदुरको यो दाबीमा आयोजनाका प्रतिनिधिहरू भने असहमति राख्छन् । उनीहरू मजदुर भन्दा पनि विभिन्न लोभ लालच र फाइदा लुट्ने समूहले मजदुरहरूको मागको बहाना देखाई मजदुर आन्दोलनमा घुसपैठ गरि आक्रमण गरिएको दाबी गर्छन् ।
आयोजनाका एक प्रतिनिधि भन्छन्– ‘अहिले आयोजनामा नेपाली तथा विदेश कामदार बस्नै सक्ने अवस्था छैन, ज्यान बचाउन पनि मुस्किल छ । कुन बेला आक्रमण हुन्छ भन्न सकिन्न, मजदुरका नाममा अन्य व्यक्तिहरूको पनि प्रवेश भएको छ ।’
आन्दोलन चर्किएपछि प्रहरी प्रशासनले हिजो शुक्रवार देखि नै प्रहरी परिचालन गरेको छ । तर ठुलो सङ्ख्यामा आक्रमणकारीहरू रड ढुङ्गा लिएर आक्रमण गर्ने गरेको हुँदा स्थित भयावह बनेको हो ।
हाल देशमा लगानी मैत्री वातावरण नरहेको र देशमा लगानी जुटाउन अति समस्या भइरहेको अवस्थामा वैदेशिक लगानीबाट निर्माणाधीन रहेको देशको ठुलो मध्येको आयोजनामा भएको आक्रमणले लगानीकर्ता चिन्तित बनेका हुन् ।
स्वार्थ समूहको कारण वैदेशिक लगानी भित्राउन सरकारलाई झन् सकस पर्ने र विदेशी दातृ निकायहरू माझ गलत सन्देश जाने पनि जानकारहरू बताउँछन् ।








