माईखोलामा डुबेर एक जनाको मृत्यु

झापा । जिल्लाको शिवसताक्षी नगरपालिका–१० स्थित माईखोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–५ का १७ वर्षीय फिरोज खानको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए । त्यसैगरी बिर्तामोड नगरपालिका–२ का १८ वर्षीय उज्ज्वल राई बेपत्ता भएका छन् ।

खान र राईसहित चार जना दोमुखा घुम्न आउने क्रममा माईखोलामा नुहाउन पसेका थिए । नुहाउन पसेका मध्ये खान र राई खोलामा डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी प्राप्त गरे लगत्तै खटिएको प्रहरी टोलीले बेपत्ता मध्ये फिरोज खानको शव घटनास्थलबाट एक सय मिटर तल ढुङ्गामा अड्किएको अवस्थामा फेला पारेको थियो ।

राई हालसम्म फेला नपरेकाले कोशी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शनिश्चरको टोलीले खोजी गरिरहेको छ । मृत खानको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 7 =