बैंकबाट कम ब्याजमा पैसा लिई सहकारीबाट बढी ब्याज खानेहरूले आन्दोलनमा गरे : मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरूले आन्दोलन गरेको आरोप लगाएका छन् ।
बुधवार काठमाडौंमा सहकारी पत्रकार समाजको १४ औं स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।
उनले बढी ब्याज खान खोज्नेहरूले नै सहरकारी पीडितहरूको अगुवाइ गरेर आन्दोलन गरिरहेको उल्लेख गरे ।
उनले सहकारी सबै खराब हुन् भनेर जनतालाई बुझाइएको भन्दै यसलाई चिर्न आवश्यक रहेको बताए । उनले कसैले स्वार्थ पूरा गर्न लागेका सहकारी देखाएर सबै सहकारी नराम्रो हो भन्ने भाष्य बनाउन खोजिएको दाबी गरे ।
मन्त्री अधिकारीले सरकारले सहकारीका समस्या समाधानको लागि सहकारी अगुवा र पीडित जनताका सुझाव लिएर काम अघि बढाइरहेको बताए ।
उनले सरकारले आन्दोलन सहकारी पीडितसँग भएको ८ बुँदे सहमतिमा सरकारले ७ वटा काम थालनी गरेको बताए । उनले सहकारीको समस्या समाधान गर्न पीडित बचतकर्ता र सहकारीको अगुवासँग छलफल सरकारले गरिरहेको बताए ।
उनले सहमति भएकामध्ये आयोग गठन गर्ने काम सरकारले गरेको भन्दै सरकारले आयोग गठन गर्दा अर्को गठन गर्न कानुनी रुपमा समस्या भएको बताए ।
उनले सरकारले गठन गरेको सहकारी समस्या समाधान गर्ने समितिमा आन्दोलनरतले छुट्टै प्रतिनिधि खोजेको भन्दै ३१ हजार सहकारीका प्रतिनिधि राख्न नसकिने बताए ।
उनले भने ‘सरकारले सहकारीका समस्या समाधानको लागि सहकारी अगुवा र पीडित जनताका सुझाव लिएर काम अघि बढाइरहेका छौं । केही सहकारीहरू मिलेर आन्दोलन गर्नुभयो । मन्त्री भएर आएपछि वार्तामा बसेँ । वार्तामा ८ बुँदे सहमति भयो । ८ मध्ये ७ वटा बुँदामा एकहप्तामा काम सुरु गर्यौं । एउटा बुँदामा काम गरेका छैनौँ । संसदले संसदीय समिति बनाएर छानबिन गरिरहेको छ । समस्यामा आएका सहकारीका समस्या समाधानको लागि समस्याग्रस्त सहकारी समिति बनाएका छौं । छानबिन समितिको सुझाव अनुसार सरकारले काम गर्छ तर फेरि आन्दोलन भइरहेको छ । सहकारीहरूको छाता संगठन राष्ट्रिय सहकारी महासंघ छ । त्यहाँबाट समस्याको समस्या लिएर आउँदा एकरूपता हुन्छ । अहिले मैले के देख्छु भने सहकारीमा एउटै प्रवृत्तिमा मानिसहरु छैनन् । साना रकम जम्मा गर्ने सहकारी बचतकर्ताहरू वास्तविक सहकारी पीडित हुनुहुन्छ । एकथरी आफूसँग धेरै भएको सम्पत्ति सहकारीमा राख्ने र अर्को थरी बैंकबाट कम ब्याजमा पैसा लिने र सहकारीमा बढी ब्याजमा राख्नेबीचको मुनाफा खाइराख्ने त्यस्ता खाले पनि छन् । अहिले सहकारीमा आन्दोलन गर्नेहरू त्यस्तै मात्रै छन् । आन्दोलनको नेतृत्व गर्नेहरूले पीडितहरूसँग फाइदा लिन पनि पाउने भए । अर्को थरी उद्देश्य पूरा छ भन्नेछन् ।’
उनले सहकारीमा अहिलेको समस्या आउनु भन्दा पहिला नै ७ वटा भन्दा बढी सहरकारीहरूमा समस्या परेको भन्दै आफू मन्त्री भएर आएपछि जम्मा २ वटा सहकारी संस्था मात्रै समस्याग्रस्त घोषणा गरेको बताए । उनले सरकारले ऋण असुली न्यायाधिकरण,कर्जा सूचना केन्द्रका विषयमा काम गरिरहेको बताए ।








