प्रधानमन्त्रीको फेसबुक पेजमा ६८ हजार फलोअर्स घट्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा ‘फलोअर्स’ घटिरहेका छन् । काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन)का समर्थकले ‘अनफलो’ गर्ने अभियान चलाएपछि प्रधानमन्त्रीको फलोअर्स घटिरहेका हुन् ।
सामाजिक सञ्जालमा बालेन र एमालेबिच टसल देखिएसँगै प्रधानमन्त्री ओलीलाई ६८ हजारले अनफलो गरेको पाइएको छ । मंगलबारसम्म केपी शर्मा ओलीको फेसबुक पेजमा ६ लाख ६६ हजार फलोअर्स थिए । बुधबार बिहान १० बजेसम्म ओलीको पेजमा फलोअर्सको संख्या ५ लाख ९८ हजारमा झरेको छ । अभियान चलेको २४ घण्टा बित्न नपाउँदै ओलीको फलोअर ६८ हजारले घटेका हुन् ।
आफ्नो पोस्ट फेसबुकबाट गायब भएपछि बालेनले ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ’ भनेर लेखेका थिए । उनको यो पोस्टपछि समर्थकहरूले प्रधानमन्त्री ओलीविरुद्ध अनफलो अभियान चलाएको बताइन्छ ।








