राप्रपा सांसद कार्कीको प्रस्ताव– प्रदेश सरकारहरु भंग गरौँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रदेश संरचनालाई भंग गर्नुपर्ने बताएकी छन् ।
मंगलवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले प्रदेश संरचना र सरकारलाई भंग गर्नुपर्ने बताएकी हुन् । उनले सुदूरपश्चिम प्रदेशमा बजेट पारित हुन नसक्दा समस्या उत्पन्न भएको बताइन् ।
त्यस्तै गण्डकी प्रदेशमा मन्त्री पद नै लिलामीमा चढेको भन्दै उनले प्रदेश संरचना सेतो हात्ति बनेको टिप्पणी गरिन् । उनले प्रदेश संरचना सेतो हात्तीको रुपमा पाल्नु नहुने बताए ।
एनले भनिन्– ‘सुदूरपश्चिम प्रदेशमा बजेट पारित गर्न नसकेर कर्मचारीहरुले दसैँको मुखमा तलव पनि खान पाएका छैनन् । स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि त्यहाँबाट सामानहरु उधारो लिएर काम चलाउनु परेको छ । गण्डकी प्रदेशमा त मन्त्रीको पद नै लिलामीमा चढ्यो । यो के हो ? त्यसैकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशको सरकार, प्रदेशस्तरलाई भंग गरौँ । सेतो हात्ति नपालौँ भनेको छ । हामीहरुले यस्तो खालका गाइजात्रा हेर्नु नपरोस् । मन्त्रीज्युले वन मन्त्रालय दिदाँखेरी त्यहाँ त तीतेपाती र वनमाराहरु हेर्न म जान्नँ भनेर भन्नुभएछ । के वन मन्त्रालयमा तितेपाति र वनमारा मात्रै देखिन्छ ? यो त एक प्रकारले मन्त्रिपरिषद्को पनि अपमान भएको छ ।’
सांसद कार्कीले गण्डकी प्रदेशमा एक मन्त्रीले वन मन्त्रालयमा तीतेपाति र वनमाराहरु हेर्न म जान्न भन्ने अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिले मन्त्रिपरिषद्को अपमान भएको बताइन् ।








