सरकारी सञ्चारमाध्यमहरू आर्थिक रुपमा आफैँ सक्षम हुनुपर्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमहरू आर्थिक रुपमा आफैँ सक्षम हुनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि भएको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी सञ्चारमाध्यमहरू विगतमा जनताको सेवाको लागि मात्रै स्थापना गरिएको भन्दै उनले बदलिँदो परिवेश अनुसार यी संस्थाहरूले अब आर्थिक आयआर्जन पनि गर्नुपर्ने बताए ।

उनले यी संस्थाहरु राम्रो सेवा पनि दिन नसक्ने र प्रतिस्पर्धामा पनि जान नसक्ने अवस्थामा रहेका भन्दै यिनीहरूको पुर्नसंरचना गर्नुपर्ने बताए । उनले जनतालाई सेवा दिनुका साथै प्रतिष्पर्धि हुनुपर्नेमा पनि जोड दिए । सरकारी सञ्चारमाध्यमहरूले राजस्व वृद्धि गर्नुपर्ने उनको भनाई छ ।

उनले आफूले सरकारी सञ्चारमाध्यमहरूलाई आफैँ कमाएर खानका लागि निर्देशन समेत दिइसकेको बताए । उनले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सेतो हात्ती पाले जसरी पाल्न नसकिने भन्दै आवश्यक संरचना मात्रै राखिने बताए ।

उनले भने – ‘हाम्रो सङ्गठनहरू पञ्चायतकालमा एक खालको भजन मण्डलीको रुपमा प्रयोग भयो । एउटा व्यवस्था थियो सबै बिरोधीहरुको पक्षमा प्रयोग गर्ने काम भयो । अहिले पनि हामी कता–कता त्यही आँखाले हेर्छौं । नेपाल टेलिभिजन र रेडियो नेपालको गतिविधि त्यही भएको छ र ? त्यस्तो भएको छैन नि । अहिले त बहुदलिय व्यवस्था आयो । कुनै राजा, महाराजा छैन । कुनै पञ्च महानुभाव पनि छैन । उनीहरूको गुणगान गाइदिनुपर्ने, उनीहरुलाई जोगाइदिनु पर्ने त छैन । पहिलेको तुलनामा निष्पक्ष ढङ्गले धेरै भन्दा धेरै जनतालाई सुसूचित गर्ने, सूचनाको प्रसारण गर्नेदेखि लिएर सबै काम गरिरहेको छ । तर हाम्रो चासो कहाँनिर छ भने, आधुनिक प्रविधिको विकास भइसक्यो । त्यस अनुरूपको कामयावि बनाउनुपर्‍यो । प्रतिस्पर्धी हुनुपर्‍यो । त्यसकारणले पनि हामीले यो ऐन ल्याएको हो । हिजो यी संस्थाहरु नितान्त सेवाको लागि मात्रै खोलेको हो । बहुदलिय व्यवस्था आएपनि नेपाल खुल्ला समाज भयो । खुला समाजमा निजी क्षेत्रलाई पनि प्रवेश गरायौँ । प्रतिस्पर्धा हुने नै भयो । खुलापनले प्रतिस्पर्धाको ज्यादा माग गर्‍यो । तर हाम्रो संस्थाहरु चाहिँ सरकारले सेवा गर्न गठन गरेको भन्ठानेर सेवा पनि राम्रोसँग पु¥याउन नसक्ने । प्रतिस्पर्धामा पनि जान नसक्ने । राज्यको सूचना प्रवाह गर्ने संस्था, जनतालाई सेवा गर्ने संस्था हुने कि नहुने ? राज्य बलियो बनाउन यस्ता संस्थाहरु हुनुपर्छ । यस्तो संस्थाहरु बायस हुनुभएन । सेवाको काम पनि गर्नुपर्नेछ यसले । सेवा गर्दै प्रतिष्पर्धामा पनि आफूलाई खरो उतार्नुपर्नेछ यी संस्थाहरूले । यसलाई प्रतिस्पर्धी बनाउने, राजस्व वृद्धि गर्ने । तिमीहरू आफैँ कमाएर खाओ न भनिदिएको छु मैले । राजस्व बढाउने काम गर । र प्रतिष्पर्धामा पनि जाऔँ । रेडियो र टेलिभिजनको क्षमता बढाउनुपर्ने पनि छ । रेडियो नेपाल पनि सेतो हात्ती बनेर काम छैन । नेपाल टेलिभिजन पनि सेतो हात्ती बनेर काम छैन ।’

उनले राज्यको सूचना प्रवाह गर्ने रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता संस्थालाई बलियो बनाउन सकेमात्रै राज्य बलियो हुने बताए । उनले संगठन र राज्यलाई बलियो बनाउनुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 16 =