प्रचण्डलाई ओलीको प्रश्न– मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताएका छन् ।

शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बंगलादेश र श्रीलङ्काको घटनाबाट सिक भन्ने अर्ति, उपदेश दिएको भन्दै मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? भनि प्रश्न गरे ।

उनले आफूले लुटपाट नगरेको भन्दै खुट्टा कमाउनु नपर्ने बताए । उनले दाहाल आफैँलाई बंगलादेश र श्रीलङ्काबाट सिक्न आग्रह गरे । उनले नेपालमा बेथिति चलाउन नसिकिने भन्दै बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुन नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताए ।

उनले वर्तमान व्यवस्था आफूहरुले लडेर ल्याएको भन्दै यसको विकास र परिमार्जन गर्दै लाने बताए । उनले नेपालमा अब कुनैपनि प्रकारको हिंसा सम्भव नभएको बताए ।

उनले भने– ‘हिजोतिर हो क्यारे प्रचण्डजीले श्रीलङ्का र बंगलादेशबाट सिक भनेर अर्ति, उपदेश दिनुभएछ । मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छु र खुट्टा कमाउनु ? मैले डराउनुपर्ने, श्रीलङ्काबाट सिक, बंगलादेशबाट सिक जो चर्को स्वरमा भन्दै हुनुहुन्छ, राम्ररी सिक । म भन्न चाहन्छु, राम्ररी सिक । बेथिति चलाउन सकिँदैन आजको समयमा । चलाउनु हुँदैन । बंगलादेशमा केही भयो भनेर नेपालमा त्यही हुन्छ, नेपाल कुनै देशको फोटोकपि मेसिन होइन । यहाँ आफ्नो इतिहास छ । आफ्नो परम्परा छ । प्रजातन्त्र हामीले लडेर ल्याएका हौँ । मैले संविधानमा यस्तो लेखिएको छ भन्ने भन्दापनि बोल्दाखेरी संविधानमा हामीले यस्तो लेखेका छौँ भनेर बोल्छु र त्यो हैसियत राख्छु । किनभने अहिलेको संविधान हामीले लेखेको हो । त्यसकारण संविधानमा यस्तो लेखिएको छ मात्रै होइन हामीले यस्तो लेखेका छौँ, संविधानमा । यस कानुनमा हामीले यस्तो लेखेका छौँ । यो प्रणाली हामीले यसरी–यसरी ल्याएका हौँ । यसरी व्यवस्था गरेका हौँ । यसलाई यसरी विकास गर्दै लान्छौँ । सुधार गर्दै लान्छौँ । परिमार्जन गर्दै लान्छौँ । यसलाई देश र जनताको पक्षमा अझ प्रभावकारी बनाउँदै जान्छौँ । यो प्रणालीलाई पनि । यो संविधानलाई पनि । देश र जनताको पक्षमा बनाउँदै लान्छौँ । अब कहिल्यै पनि नेपालमा त्यस प्रकारको हिंसा सम्भव छैन । त्यसप्रकारको हिंसा हुन दिइँदैन । कसैले गर्न खोजेपनि, चाहेपनि सम्भव छैन । उल्टै हामीलाई तर्साउन खोज्ने ? हामी त सधैँ बारुद माथि नै, बारुदका बिचमै यात्रा गरेर आएका हौँ । आजदेखि होइन । आधा शताब्दीभन्दा बढी समयदेखि । म ६ दशकदेखि यही देश बनाउने अभियानमा छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताए ।

उनले त्यसभन्दा हप्ता दिन अगाडी नै प्रधानमन्त्री पद छोड्ने बताए । उनले आफूलाई बढी प्रधानमन्त्री पद खाने भन्दा पनि समयमै हस्तान्तरण गरौँ भन्ने लागिरहेको बताए ।

उनले भने– ‘मैले सधैँ मै नेतृत्व गर्छु नेपालको । मै प्रधानमन्त्री हुन्छु अब भनेर हुन्छ अब ? मलाइ मन नपराउनेहरुका लागि म खुशीको खबर भन्दिनँ चाहन्छु, अब मेरो यसपल्ट प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी छ । मन नपराउनेहरुलाई खुशीको कुरो । त्योभन्दा पनि अलि हप्तादिन अगाडी नै छोड्छु भनेको छु मैले । बढी खाउँ भन्ने होइन कि बरु समयमै हस्तान्तरण गरौँ भन्ने छ ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेकपा(एमाले) र नेपाली काँग्रेसका बीचमा भएको सात बुँदे सहमती क्याप्टेन रामेश्वर थापाको घरमा गरेको बताए ।

उनले क्याप्टेन थापाको विभिन्न व्यवसायहरु भएपनि व्यवसाय मात्रै चलाएर नबसेको भन्दै उनी सचेत नागरिक समेत भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =