प्रकृति दोहनले मानव जीवनको दिनगिन्ती सुरु भयो : श्रममन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रकृतिको दोहनले मानव जीवनको दिनगिन्ती सुरु भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा ज्यानु—वसन्त राज मिश्र फाउन्डेसन सामाजिक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रकृतिको अनावश्यक दोहनका कारण विपद्हरू दिन प्रतिदिन बढ्दै गएको बताए । उनले विकासलाई अघि बढाउँदा प्रकृतिमैत्री नबनाए ठूलो क्षति व्यहोर्नुपर्ने निश्चित रहेको बताए । उनले सोलुखुम्बु लगायतका क्षेत्रमा हिमताल फुट्नुको संकेतले प्रकृतिलाई हानी पुर्याउनु नहुने कुराको संकेत गरेको उल्लेख गरे ।
उनले भने ‘हामी कता जाँदैछौँ । डेभलपमेण्टलाई कसरी हेरिरहेका छौँ । विकास निर्माणलाई के हिसाबले हेरिरहेका छौँ । हामी भौतिक पूर्वाधारको क्षेत्रलाई कसरी हेरिरहेका छौँ । सोलु लगायतका विभिन्न ठाउँमा हिमतालहरू फुट्दै गइरहेको छ । त्यसको असर हामी हरेक दिन देखिरहेका छौँ । अब त दिन गिन्ती गर्न सुरु गरे हुन्छ । यसमा सबै जना सचेत हुनुपर्छ ।’
मन्त्री भण्डारीले प्रकृतिको संरक्षण जोड दिन आवश्यक रहेको पनि बताए ।








