संसदीय समितिमा सांसदहरूको प्रश्ताव- नेपाल वायुसेवा निगमलाई निजीकरण गरौं

काठमाडौँ । संसदीय समितिमा सांसदहरूले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचन र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद शपुपतिसमशेर जबराले यस्तो प्रस्ताव राखेका हुन् ।
सांसदहरूले सरकारले वायुसेवा निगम चलाउन नसकेको भन्दै निजीकरण गर्नुपर्ने प्रस्ताव समितिमा राखे । उनीहरूले निगम आर्थिक रुपमा कमजोर बन्दै गएको र निगमले जहाज सञ्चालन गर्नसक्ने अवस्था नभएको भन्दै निजीकरण गर्नुपर्ने प्रस्ताव गरे । भारत जस्तो ठूलो देशमा एयरइण्डिया निजी कम्पनीले सञ्चालन गरेको उदाहरण दिँदै नेपालमा पनि त्यही मोडलमा जाँदा केही समस्या नहुने सांसदहरूको धारणा थियो ।
सांसदहरूले नेपाल वायुसेवा निगम सुधारको एउटा मात्रै विकल्प निजीकरण वा निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिनुपर्ने बताए । सांसदहरूले निजी कम्पनीका जहाजहरू अहिलेसम्म ग्राउण्डेड भएका समाचारहरू सुन्न नपर्ने तर नेपाल वायुसेवा निगमका चार वटा जहाजमा ३ ग्राउण्डेड भनेर सधैँ सुन्नुपर्ने अवस्था रहेको बताए । उनीहरुले एउटा जहाज एक महिनाभित्र सी चेक भएर नेपाल आउनुपर्ने भएपनि चार पाँच महिनासम्म आउन नसक्नुको निगम अध्यक्षसँग कारण माग गरे ।
नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले निगमले हवाई जहाज चलाउन नसकेको दाबी गरे । उनले भारतमा पनि एयर इण्डियाले चलाउन नसक्दा टाटा एयरलाइन्सले सञ्चालन गरेको उदाहरण रहेको भन्दै त्यही मोडलमा नेपाल जान आवश्यक रहेको औँल्याए । उनले सरकारले चलाउन नसक्ने भए सरकारले प्रक्रियागत रुपमा निजी क्षेत्रलाई दिनुपर्ने बताए । उनले नेपाल वायुसेवा निगम सरकारले चलाउँदा चल्न नसकेको स्पष्ट देखिएकाले प्राधिकरणको नेतृत्वले निजी क्षेत्रलाई चलाउन दिने प्रस्ताव ल्याउनुपर्ने बताए ।
उनले हिमालय एयरलाइन्ससँग चार वटा जहाज रहेको भएपनि त्यसमा अहिलेसम्म समस्या आएको भन्ने सुन्नमा नआएको बताए । उनले चीन सरकारको सहयोग रहेकाले भारतमा उडान गर्न नसके पनि अन्य २० देशमा उडान गरिरहेको बताए । उनले जहाज सी चेकको समस्या अहिलेसम्म नसुनिएको भन्दै बराबर जहाज हुँदा पनि नेपाल एयरलाइन्समा समस्या बढी समस्या मात्रै आउने गरेको भन्दै सरकारले हिमालय एयरलाइन्सलाई जिम्मा दिनुपर्ने धारण राखे ।
उनले भने ‘निगमले हवाई जहाज चलाउन नसकेको भन्ने लाग्छ । भारतमा पनि टाटा एयरलाइन्स चलाउन नक्दा एयर इन्डियाको रुपमा आयो । तर २०२२ पछि टाटा एयरलाइन्सकै व्यवस्थापनमा सुरु भइरहेको छ । सरकारले चलाउन नसक्ने भए सरकारले प्रक्रियागत रुपमा २०२२मा १४७ वटा जहाज सहित एयर इन्डियाको जिम्मा लिएको उदाहरण छ । नेपाल वायुसेवा निगम सरकारले चलाउँदा चल्न नसकेको स्पष्ट देखिएको छ । प्राधिकरणको नेतृत्वले निजी क्षेत्रलाई चलाउन दिने प्रस्ताव ल्याउँदा राम्रो होला जस्तो लाग्छ । हिमालय एयरलाइन्ससँग पनि चार वटा जहाज छन् । त्यसमा समस्या आएको सुनिएको छ । चीन सरकारको सहयोग रहेकाले भारतमा उडान गर्न सकेको छैन । अन्य २० देशमा उडान गरेको छ । जहाज सी चेकको समस्या सुनेका छैनौँ । बराबर जहाज हुँदा पनि नेपाल एयरलाइन्समा समस्या बढी आएको हुन्छ । अब हामीले हिमालय एयरलाइन्सलाई जिम्मा दिने होकी । समितिमा घण्टौँ छलफल गरेर हुनेवाला केही छैन ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले नेपाल वायुसेवा निगमको वर्तमान समस्याको हल निजीकरण भए मात्रै समाधान हुने बताउनु भयो। उहाँले सबै समस्या हल गरी राम्रोसँग निगम सञ्चालन गर्न निजीकरण गर्नुपर्ने धारणा राखे । उनले राष्ट्रिय ध्वजावाहक निजीकरण गर्नु राम्रो नभए पनि सधैँ समस्या र आर्थिक रुपमा कमजोर बनाएर चलाउन नहुने बताए ।
उनले भारतमा निजीकरण गर्न मिल्छ भने नेपालले पनि गर्न मिल्ने तर्क राखे । उनले नेपाल वायुसेवा निगममा फण्डामेण्टल समस्या रहेको भन्दै एउटा वाइडवडी जहाजले अन्तर्राष्ट्रिय सबै उडान गर्न नसक्ने बताए । उनले धेरै जहाज किन्न सरकारसँग पैसा नभएको भन्दै पुँजीको लागि निजी क्षेत्रलाई सञ्चालनको लागि दिन उपयुक्त हुने बताए । उनले सरकारबाट नेपाल वायुसेवा निगम चल्नसक्ने जिकिर गरे । उनले अब निगम चलाउने निजी कम्पनीले मात्रै चलाउन सक्ने अवस्था देखिएको उल्लेख गरे ।
उनले भने ‘नेपाल वायुसेवा निगममा फण्डामेन्टल समस्या देखिन्छ । एउटा वाइडवडी जहाज छ । एउटा जहाजले अन्तर्राष्ट्रिय सबै उडान गर्न सम्भव छैन । अर्को जहाज किन्न पनि राज्यले सक्दैन । सरकारसँग पैसा छैन । यो समस्याको समाधान गर्न सरकारले सक्दैन । भारतमा एयर इन्डिया चलाउन नसकेर टाटालाई दियो । टाटा जस्तो कम्पनी नेपालमा छैन । तर जरुरी के छ भने सरकारबाट नेपाल वायुसेवा निगम चल्दैन । निगमलाई धेरै पुँजीको आवश्यकता पर्छ । सरकारले आफूले चलाउन सक्ने सम्भावना छैन । अब निगम चलाउने निजी कम्पनीले हो । निजी कम्पनीले पुँजी ल्याउन सक्छ । चलाउन सक्छ । एउटा हवाइटवडी सी चेक गरेर ल्याउन दुई महिना बढी लाग्ने गरेको छ । नेपाल वायुसेवा निगमको वर्तमान समस्याको हल निजीकरणबाट मात्रै हुन्छ । निजीकरण गर्न मन लाग्दैन होला । राष्ट्रियध्वाजावाहक निजीकरण गर्नु राम्रो होइन । बाध्य भएर भारतमा निजीकरण गर्न मिल्छ भने नेपालले पनि गर्न मिल्छ । त्यसतर्फ जानुपर्छ ।’
नेकपा एमालेकी सचेतक सुनिता बरालले व्यापार हुने समयमा चार वटा जहाजमध्ये ३ वटा जहाज ग्राउण्डेड भएको भन्दै नेतृत्वको क्षमता माथि प्रश्न उठाइन् । उनले निगमको नेतृत्व जहाज सञ्चालन गर्ने सन्दर्भमा जिम्मेवार नभएको बताइन् । उनले विश्वका धेरै देशमा दुई वटा जहाज हुँदा पनि राम्रोसँग उडान गरिरहेको भन्दै नाफामा पुगेको बताइन् । उनले निगमको नेतृत्वले राजनीतिक दलहरूलाई दोष दिएर भाग्न नमिल्ने बताइन् ।
नेपाली काँग्रेसका सांसद उदय शमशेर जबराले नेपाल वायुसेवा निगमका ७५ प्रतिशत जहाज ग्राउण्डेड रहेको बताइन । उनले चार वटा जहाजमा एउटै समयमा ३ जहाज ग्राउण्डेड हुने विश्वका कुनै पनि देशमा नहुने उल्लेख गरिन् । उनले जहाज मर्मतको लागि इजरायल,इटली जाँदा फर्कँदै नफर्कनुको कारण के हो रु भन्दै प्रश्न गरे ।
नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सार्वजनिक खरिद ऐन पुरानो भएको कारण पनि जहाज मर्मत लगायत समस्या भएको बताए । उनले निगमको संरचनागत सुधार गर्न पनि आवश्यक रहेको बताए । उनले निगमसँग जहाज नभएको कारण पनि समस्या निरन्तर आइरहेको बताए । उनले निगम व्यवस्थापनलाई व्यवस्थित गर्न भएका अध्ययन र अनुसन्धानलाई राजनीति स्वार्थ भन्दा माथि उठेर समाधान गर्न आवश्यक रहेको बताए । उनले नेपाल वायुसेवा निगममा देखिको समस्या नीतिगत रुपमा समाधान गर्न आवश्यक रहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जहाजका पाट्र्सहरु कुन समयमा बनाउनुपर्छ भन्ने सबै सेड्युलमा हुँदा पनि ३ जहाज एकै पटक ग्राउण्डेड हुनु राम्रो नभएको बताए । उनले निगमले जहाजहरू सञ्चालनको लागि सामान्य व्यवस्थापन समेत गर्न नसकेको उल्लेख गरे ।
उनले निगमका जहाजहरू राम्रो योजना बनाएर सञ्चालन गर्ने भन्दा पनि निगम नेतृत्व विदेश भ्रमणमा मात्रै गइराख्नु उपयुक्त नभएको बताए ।








