कुनैपनि विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको छैन : शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयहरूको सन्दर्भमा जवाफ दिँदै मन्त्री भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताएका हुन् ।

उनले प्रधानमन्त्रीबाट कुलपतिको हैसियतले निर्देशन दिने बाहेक अन्य कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नभएको स्पष्ट पारे । उनले आफूले प्रधानमन्त्रीलाई हस्तक्षेप गर्नका लागि नगुहारेको पनि बताए । मन्त्री भट्टराईले विद्यमान नियम, कानुन बमोजिम कुलपति र सहकुलपतिका हैसियतले प्रधानमन्त्री र शिक्षामन्त्रीले आवश्यक निर्देशन दिनुपर्ने भन्दै सो काम आफूहरूले संयुक्त रुपमा गरिरहेको बताए ।

उनले विश्वविद्यालयका व्यवस्थापकीय कार्यमा सरकारले कुनैपनि हस्तक्षेप नगरेको र आगामी दिनमा पनि नगर्ने बताए ।

उनले भने – ‘उच्च शिक्षा पढ्न विदेश जाने लहर बढ्दो छ । विश्वविद्यालयमा योग्यता प्रणालीको सुरुवात भएको थियो । प्रधानमन्त्रीबाट हस्तक्षेप भयो । शिक्षामन्त्रीबाट विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपको लागि गुहारिएको देखियो भन्ने प्रश्नमा, शिक्षामा प्रणालीगत सुधार हुन नसक्नु, विद्यार्थीहरूले पढ्दै कमाउने अवसर हामीले दिन नसक्नु हो । देशमा सबैखाले श्रमको सम्मान नहुनु पनि हो । युवाहरूमा सजिलो रोजगारीको आकांक्षा बढिरहेको छ । सजिलो रोजगारी पाउने अवस्था अझै हामीले सिर्जना गर्न सकेका छैनौँ । यस्ता विषयलाई राजनीतिक नारा मात्रै नबनाई राजनीतिक प्रणालीले नै सम्बोधन गर्नुपर्छ । प्रधानमन्त्रीबाट कुलपतिको हैसियतले निर्देशन दिने बाहेक अन्य कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप गरिएको छैन । मैले पनि प्रधानमन्त्रीलाई हस्तक्षेप गर्नका लागि गुहारेको छैन । विद्यमान नियम, कानुन बमोजिम कुलपति र सहकुलपतिका हैसियतले प्रधानमन्त्री र शिक्षामन्त्रीले आवश्यक निर्देशन दिने काम हामी संयुक्त रुपमा गर्ने गर्छौ । विश्वविद्यालयका व्यवस्थापकीय कार्यमा सरकारले कुनैपनि हस्तक्षेप गरेको छैन । गर्ने पनि छैन । तर म अहिले पनि भन्न चाहन्छु, हामीले राजनीतिक प्रतिबद्धता र कानुनी शासनलाई विश्वविद्यालयभित्र नस्विकार्ने हो भने विश्वविद्यालयहरू हस्तक्षेपकारी अवस्थामा पुग्छन् । दबाबमा पुग्छन् ।’

मन्त्री भट्टराईले राजनीतिक प्रतिबद्धता र कानुनी शासनलाई विश्वविद्यालयभित्र नस्विकारे विश्वविद्यालयहरू हस्तक्षेपकारी अवस्थामा पुग्ने भन्दै यसतर्फ सबैलाई सचेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =