रंगशालाको अवस्थाका कारण देशकै बेइज्जत भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाको अवस्थाका कारण देशकै बेइज्जत भएको बताएका छन् ।

उनले खेल मैदान धेरै बिग्रिएकाले देशकै बेइज्जत हुने खालको स्थिति नहुने गरी रंगशाला निर्माण गर्न आग्रह गरे ।

उनले भने–‘यति साह्रो बिग्रिएको खेल मैदान मैले देखेको थिएन । अहिले हिलै छ । अस्ति एउटा खेल देख्दा देशकै बेइज्जत भए जस्तो लाग्यो । त्यसकारण यस्तो देशकै बेइज्जत हुने खालको स्थिति हुनु हुँदैन ।’

केही समयअघि भूटानको पारोसँगको खेलमा दशरथ रंगशालाको अवस्थाले देशको बेइज्जत भएको भन्दै दशरथ रंगशालाको आवश्यक निर्माण काम उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिए ।

उनले दर्शकलाई देखाउने गरीको खेल खेल्न २५ हजार दर्शक क्षमताको रंगशाला अपरिहार्य रहेको भन्दै मैदान चुस्त, दुरुस्त बनाउन आग्रह गरे । प्रधानमन्त्री ओलीले मैदानको दुरुपयोग नगर्न पनि आग्रह गरे ।

‘अन्यत्र त्यस्तो प्यारापिट नै छैन जहाँ हामी खेल खेलाएर दर्शकलाई देखाउन सकौँ । दर्शकलाई देखाउने गरीको खेल खेल्ने हो भने अन्त प्यारापिट छैन । हामीलाई २०÷२५ हजारको क्षमताको त्यस्तो मैदान त चुस्त दुरुस्त चाहिन्छ नै,’उनले भने,‘त्यसको दुरुपयोग नहोस् । खासगरी यो स्तरीय खेलहरुका लागि हो, खासगरी त्यो फुटबल जस्ता खेलहरुका लागि हो । अरु खेल खेल्नु छ भने तदनुसारका खेल मैदानहरु तयार गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले १० औं राष्ट्रिय खेलकुद खेलाउँदा दशरथ रंगशाला चुस्त दुरुस्त बनाउन सक्नुपर्ने बताए । उनले आजबाटै मैदान उत्कृष्ट बनाउन शुरु गर्न निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =