खानीखोलामा फैलिएको कालाजार नियन्त्रणमा

डेढ महिनामा ५१ जनामा डेङ्गी संक्रमण

काभ्रेपलाञ्चोक । जिल्लाको खानीखोला गाउँपालिका वडा नम्बर महांकालका बालबालिकामा केही महिनादेखि देखिएको कालाजारको सङ्क्रमण नियन्त्रणमा आएको छ ।

करिब चार महिनादेखि आठ बालबालिकामा देखिएको कालाजार विशेष निगरानी र ‘कन्ट्रयाक ट्रेसिङ’ तथा विषादी कार्यक्रम सञ्चालन गरी नियन्त्रणमा ल्याइएको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो ।

हालै मात्र एक पाँच वर्षमुनिका बालकमा कालाजारको सङ्क्रमण देखिएको थियो । कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले खानीखोलामा फैलिएको कालाजार पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको बताए । ‘कन्ट्रयाक ट्रेसिङ’ तथा विषादी छिट्काउ कार्यक्रम सञ्चालन गरी कालाजार सङ्क्रमण नियन्त्रणमा ल्याइएको उनले बताए । “भुसुनाका माध्यमबाट सर्ने यो रोग नियन्त्रणका लागि समयसमयमा भुसुना लाग्ने स्थानको पहिचान, खोज र नष्ट अभियान नै सञ्चालन गरिएको छ । केही महिनाअघि बनेपा नगरको एक बालकमा पनि कालाजार देखिएको थियो । कार्यालयले त्यसबेला उक्त क्षेत्रमा पनि भुसुना लाग्ने स्थानको पहिचान, खोज र नष्ट अभियान नै सञ्चालन गरी नियन्त्रणमा ल्याइएको हो”, कार्यालय प्रमुख श्रेष्ठले भने ।

कालाजार लाग्न नदिन भुसुनाको टोकाइबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ । यसको सङ्क्रण भएमा लगातार ज्वरो आउने, छालामा विभिन्न खालका सङ्क्रमण देखापर्ने, वजन घट्ने, खानामा रुची नहुने, पेट बढ्दै जाने र समयमा उपचार हुन नसके बिरामीको मृत्यु हुने गर्छ ।

यसैबीच काभ्रेपलाञ्चोकमा डेढ महिनाको अवधिमा ५१ जनामा डेङ्गी संक्रमण भएको छ । कार्यालयकानुसार २३ पुरुष र २८ महिलामा डेङ्गी सङ्क्रमण देखिएको हो ।

सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा जिल्लामा चार सय ८७ जनामा डेङ्गी संक्रमण भएको थियो ।

काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । काभ्रेपलाञ्चोक डेङ्गीको उच्च जोखिम रहेको जिल्ला हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =