विद्युत वक्यौताबारे प्रचण्डसँग संसदले स्पष्टिकरण लिनुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले विद्युत प्राधिकरणको असुल गर्नुपर्ने १६ अर्ब वक्यौता रकम आफूखुशी मिनाहा गरेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियारको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
उनले बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै विपक्ष दलका नेता दाहालले कुनै अधिकार नै नभएको विषयमा प्राधिकरणको १६ अर्व वक्यौता छुट दिने निर्णय गर्नु महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन बिरुद्ध भएकाले उनलाई संसदले पनि स्पष्टिकरण सोध्नुपर्ने बताए ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै दाहालले नेपाल विद्युत प्राधिकरणको वक्यौता रकमबारे प्रधानमन्त्री ओलीले स्पष्टिकरण दिनुपर्ने माग गरेका थिए ।
तर एमाले सचिव भट्टराईले भने सो सम्बन्धमा तत्कालीन प्रधानमन्त्री दाहालले अख्तियारको दुरुपयोग गरेर कानून विपरित वक्यौता रकम छुट सम्बन्धि निर्देशन दिएकाले उहाँले तत्काल संसदमा स्पष्टिकरण दिनुपर्ने तर्क गरे ।
सचिव भट्टराईले एमालेले प्राधिकरणको असुल गर्नुपर्ने कुनैपनि वक्यौता रकम छुट दिनुहुन्न भन्ने पक्षमा रहेको पनि दोहोर्याए ।
सचिव भट्टराईले कानून विपरित जाने काम तत्कालीन प्रधानमन्त्री दाहालले गरेकाले आफूहरुले त्यसमाथि स्पष्टिकरण माग गर्नुपरेको पनि बताए ।








