परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच मंगलबार द्विपक्षीय भेटवार्ता भएको छ । मन्त्री रणाको निमन्त्रणामा बुसाइदी सोमबार नेपाल आएका थिए ।
उनीहरूबीच नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषय, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो ।
वार्तामा नेपाल तर्फबाट मन्त्री डा. राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायत अधिकारी र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरू सहभागी थिए ।
वार्तामा परराष्ट्रमन्त्री डा. राणाले भैरहवा र पोखरा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरेकी थिइन् ।
ओमानले पहिले पनि भैरहवामा हवाई उडान सुरु गरी केही समयपछि बन्द गरेको स्मरण गर्दै उनले हाल नेपाल सरकारले विदेशी एयरलाइन्सलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि आग्रह गरिन् । यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने बताएका थिए ।
यसैगरी, नेपालले नेपाली श्रमिकको हक, हित तथा थप श्रम गन्तव्यबारे कुरा उठाएको थियो । नेपाल पक्षले ओमानको श्रम कानुन र अरू वातावरण राम्रो रहेकाले नेपाली श्रम बजारको राम्रो गन्तव्य हुन सक्ने भन्दै यस विषयमा कुरा उठाएको थियो ।
ओमान पक्षले पनि नेपाली श्रमिकहरू काममा लगनशील र इमान्दार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिक लैजाने जनाएको थियो । यस विषयमा दुई देशबीचमा श्रम सम्झौता गरी अगाडि बढ्ने सहमति भएको छ ।
नेपालको प्राकृतिक सौन्दर्य, सगरमाथालगायत विश्वका आठ हजारभन्दा अग्ला हिमालहरू एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाका कारण पनि नेपालको पर्यटकीय सम्भावना धेरै रहेको परराष्ट्रमन्त्री राणाले बताइन् ।
ओमानी पर्यटकको नेपाल आगमनलगायत अन्य उहाँले सम्भावनाहरूमा संयुक्त रूपमा केही गर्न सकिने प्रस्तावका साथै नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह गरेकी थिइन् ।
नेपालमा जलविद्युत् लगायत कैयौँ क्षेत्रमा लगानीका धेरै सम्भावना रहेका बताउँदै उनले भनिन्,“नेपालमा लगानीका लागि विदेशमन्त्रीमार्फत ओमान सरकार र त्यहाँका लगानीकर्ताहरूलाई आग्रह गर्दछु” ।
वार्तापछि पत्रकारहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै मन्त्री राणाले नेपाल र ओमानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताइन् ।
दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको जानकारी गराउँदै नेपालमा पर्यटनका प्राथमिक क्षेत्रमा लगानी गर्न ओमान इच्छुक रहेको समेत उनले बताइन् ।








