कृषि कर्ममा रमाएका चौधरी भन्छन्,‘किन विदेश जानु ? यहीको माटोमा सुन फलाउन सकिन्छ’

सिरहा । जल तथा ऊर्जा आयोगबाट प्राविधिक उपसचिव (इलेक्ट्रोनिक इञ्जिनियर)बाट दुई वर्षअघि अवकाश प्राप्त लहान–१६ का सुकदेव चौधरी कृषि कर्ममा रमाइरहेका छन् ।
अध्ययन र अनुभवको क्षेत्र फरक भए पनि कृषि कर्म मनमा शान्ति दिने अस्त्र भएको उनले बताए । उमेरले छ दशक पूरा गरेका उनको लोभलाग्दो व्यावसायिक फलफूल खेती देख्दा धेरैले प्रशंसा गर्ने गरेका छन् ।
उनले लहान बजारबाट १० किलोमितर उत्तरतर्फ चुरेको काखमा अवस्थित करिब चार बिघा आफ्नै जमिनमा ‘कालिका कृषि फर्म’ दर्ता गरी ड्रागन फ्रुट, आँप, लिची, कागती, अम्बा, स्याउ, मेवालगायत फलफूल खेती गरिरहेका छन् । त्यसबाहेक उनका चारवटा माछा पोखरी पनि छन् ।
वि.सं. २०६५ मा ऊर्जासम्बन्धी विदेश भ्रमणमा छिमेकी मुलुक चीन गएको बेला ऊर्जा र कृषिसम्बन्धी अवलोकनबाट कृषिमा नेपालमा पनि केही गर्न सकिने सङ्कल्प लिएर अवकाश हुनुभन्दा चार वर्ष अगाडि नै कृषि फर्म दर्ता गराएर पूर्वाधार तयार गरिएको चौधरीले जानकारी दिए ।
प्राविधिक क्षेत्रमा सिद्धहस्त चौधरीलाई अवकाशपछि पनि सोही क्षेत्रमा काम गर्ने अवसरको कुनै कमी नभएपनि उनी कृषि कर्ममै समर्पित भए । “एउटै पेसा जीन्दगीभर गरिरहदा दिक्क लाग्ने हुँदो रहेछ । शरीर र दिमागलाई पनि कुनै फरक पेसा र व्यवसायको स्वाद लिने रहर लाग्ने रहेछ सायद । मलाई पनि त्यही रहरले डोहो¥यायो”, चौधरीले भने ।
सामाजिक रुपमा इञ्जिनियरिङ पेसालाई निकै प्रतिष्ठित पेसाका रुपमा हेरिन्छ । तर कृषि कर्ममा रमाउनेहरुले त्यसप्रकारको सम्मान पाइसकेका छैनन् ।
विभिन्न देशमा भ्रमण गर्दा त्यहाँको आधुनिक कृषि प्रणाली र कृषकलाई सरकारले दिएको महत्वले आफूलाई प्रभावित बनाएको चौधरीकोद भनाइ छ ।
चौधरीको घर वरिपरि फलफूको आकर्षक र लोभलाग्दो खेतीले जो कसैको मन मोहित बनाउँछ । करिब रु ३० लाख लागतमा सुरु गर्नुभएको व्यावसायिक कृषि खेतीबाट चौधरीले मुनाफा प्राप्त गर्न थालेका छन् ।
“जागिरबाट अवकाश हुनुभन्दा केही वर्षअघिदेखि नै ड्रागन खेती सुरु गरिसकेको थिए । त्यसपछि फलफूल खेती, माछा र माहुरीपालन पनि एकसाथ सुरु गरेको छु”, चौधरीले भने, “दुई वर्ष अघिदेखि १४ कठ्ठा क्षेत्रफलमा लगाइएको व्यावसायिक ड्रागन फ्रुटका खेतीले सोचेभन्दा राम्रो सफलता पाएको छु, अन्य फलफूलका बिरुवा हुर्कैदैछन् ।”
उनलाई ड्रागन खेतीबाट जत्तिकै आम्दानी ड्रागनको बोट मुनी लगाएका अन्य अन्तरबालीले दिइरहेको छ । उनले अन्तरबालीका रुपमा सिजनअनुसार लसुन, प्याज, भेण्डी, खुसार्नीलगायत तरकारी तथा फलफूल लगाएका छन् ।
त्यसबाहेक उनले व्यावसायिक तरकारी खेती गरेका छन् । अन्तरबालीले ड्रागन फ्रुट खेतीलाई राम्रो स्याहारसुसार पुग्ने र त्यसबाट लाभ लिएको उनको भनाइ छ ।
उनी सक्रियताका साथ बिहानदेखि बेलुकासम्मै कृषि कर्ममा खटिने गरेका छन् । उनलाई श्रीमती हरिदेवी चौधरीको पनि साथ छ । एक जना छोरा भने वैदेशिक अध्ययनमा रहेको उनले जानकारी दिए ।
जागिरे जीवन हुँदा काठमाडौंमा करिब १६ वर्ष श्रीमतीले सुगर र प्रेसरको औषधि खानुपरेको भएता पनि अहिले खेतबारीमा श्रम गर्दा उक्त रोग सामान्य अवस्थामा रहेको र कुनै औषधि खानु नपरेको उनको भनाइ छ ।
“केही नगरी बसेर दिन कटाउनु भनेको रोग पाल्नु जस्तै रहेछ । त्यो भन्दा त कृषि कर्मले शरीर पनि फुर्तिलो, खाने कुरा पनि अग्र्यानिक उत्पादन हुने । विभिन्न रोगबाट छुटकारा पनि”, उनको भनाइ छ ।
चौधरीले खेतीमा अर्गानिक कम्पोष्ट मल प्रयोग गरेका छन् । उनले अहिले पाँच जना स्थानीयलाई नियमित रोजगारीमा काम पनि दिएका छन् । युवाहरु बेरोजगार भएर भौतारिने समस्या देख्दा आफूलाई दुःख लाग्ने चौधरीले बताए ।
मेहनत गर्दा जीविकोपार्जन गर्न कुनै समस्या नरहेको बताउँदै उनले भने,“तर, त्यसको लागि स्पष्ट दृष्टिकोण र सरकारको स्पष्ट नीति चाहिन्छ । नेपालमा जमिनको महत्व नबुझेर विदेश जाने प्रवृत्ति छ । किन विदेश जानु ? खेतबारी बाँझै किन छोड्नु ? विदेशमा गर्ने जति मेहनत यही गर्ने हो भने यहाँको माटोमा सुन फलाउन सकिन्छ”।
अवकाश प्राप्त कर्मचारी तथा अन्य कृषि कर्ममा लाग्न चाहनेका लागि सुकदेव चौधरी उदाहरण भएको लहान नगरपालिका कृषि शाखाका संयोजक तथा वडा नम्बर १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले बताए ।
“म आफैँ कृषिको निर्देशक भएर अवकाश पाएको व्यक्ति हुँ । अवकाश पश्चात राजनीतिमा जोडिए । अहिले दोस्रो कार्यकालको रुपमा वडाध्यक्ष भएको छु । लहान नगरपालिकाको कृषिलाई उद्योग र रोजगारीसँग जोड्न गृहकार्यमा लागेको बेला अवकाश प्राप्त उपसचिव शुकदेव चौधरीले थालेको नमूना कृषि फर्मबाट लहान नगरपालिकाले एउटा कृषि प्रयोगशाला भेटाएको अनुभूति गरेका छौँ,”उनले भने ।
साथै चौधरीको कृषि फार्मलाई नगरपालिकाका तर्फबाट अनुदान दिलाएको र नगरको उत्कृष्ट कृषक घोषणा गरी सम्मान गरेको पनि वडाध्यक्ष चौधरीले बताए । आफूले अर्कै पेसामा जानेको सीप र कलाको सट्टा इन्टरनेटबाट प्राप्त ज्ञानलाई कृषि कर्ममा प्रयोग गरिरहेको चौधरीले बताए ।
जागिरबाट अवकाश लिएपछि पनि मनलाई खुसी राख्न मानिसले कुनै न कुनै रुपमा आफुलाई सक्रिय राख्नुपर्छ भन्ने मान्यता उनको छ । अवकाशपछि प्राप्त हुने सेवा सुविधाले जीवन धान्न मुस्किल हुने भन्दै त्यसको लागि पूर्वतयारी गर्नुपर्ने चौधरीले बताए ।
“म यो कृषिकर्म आफ्नो आय आर्जनको लागि मात्रै होइन, अरू अवकाश प्राप्त कर्मचारी तथा देशमा केही हुँदैन र केही छैन भनी निराश हुने आमयुवालाई कृषि पेसालाई सम्मान गर्दै आफ्नै गाउँ ठाउँमा आय आर्जन गर्ने यस्तो उपाय छन् भन्ने सन्देश प्रवाह गर्न चाहन्छु,”उनले भने ।








