टुँडिखेलमा ओली र देउवामाथि अपमान, भीम रावलको सम्मान !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध युवाहरूले नाराबाजी गरेका छन् ।
सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा ओली र देउवा विरुद्ध युवाहरूले नाराबाजी गरेका हुन् ।
अर्को कार्यक्रममा जानुपर्ने भन्दै प्रधानमन्त्री ओली देउवाभन्दा अगाडी बोलेका थिए । प्रधानमन्त्री ओलीले कार्यक्रममा बोल्दै गर्दा युवाहरूले नाराबाजी गरेका हुन् ।
कार्यक्रममा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा बोल्ने समयमा पनि युवाहरूको नाराबाजी रोकिएन । देउवा मञ्चमा आउने बित्तिकै होहल्ला र नाराबाजी सुरु भएपछि देउवाले आक्रोशित भएका थिए ।
,नाराबाजी नरोकिएपछि देउवाले भने– ‘लाज पनि छैन । अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू, यही हो नेपालको संस्कृति ? यही हो नेपालको चलन ? यही सिकेर आएको ? बदमासहरू ?।’
उसो त, कार्यक्रममा प्रधानमन्त्री ओली र सभापति देउवासँगै एमालेका नेता भीम रावल पनि सहभागी थिए । तर, रावलप्रति युवाहरूले सम्मान देखाएका थिए । रावल बोल्दा युवाहरूले रावलको पक्षमा ताली बजाएका थिए ।








