नयाँ पुस्ताले शिष्टता र मर्यादा बिर्सिए, अचम्म लाग्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन् ।
सोमवार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यतार शिष्टता बिर्सिएको देख्दा अचम्मित भएको बताए ।
‘नेपाली जनता आफ्ना चाडबाडप्रति अत्यन्तै उत्साहित छन् । नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ, उनले भने,‘यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन् । अरुका कार्यक्रम बिथोल्ने गरेका छन् ।’
नयाँ पुस्ताको अकर्मण्यता नेपालीपन नभएको उल्लेख गर्दै उनले नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिन युवाहरुलाई आग्रह गरे । नेपाल मेलमिलाप, शान्तिपूर्ण देश भएको प्रधानमन्त्री ओलीको भनाइ रहेको थियो ।
उनले नेपाली समाज संस्कृतिले भरिपूर्ण समाज भएको भन्दै नेपाली समाज जति बिथोल्न र भाँड्न खोजेपनि नभाँडिने जिकिर गरे । उनले नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गरी विश्वव्यापी फैल्याउनुपर्ने बताए ।
‘म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन,नेपाली संस्कृति होइन । नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिऔँ । हाम्रो देश मेलमिलापको देश हो । शान्तिपूर्ण ढंगले चल्ने देश हो,’उनले भने,‘नेपाली समाज जति बिथोल्न खोजेपनि, जति भाँड्न खोजेपनि बिथोलिन र भाँडिन मान्दैन । नेपाली समाज, संस्कृतिले भरिपूर्ण समाज हो । नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गर्नुपर्छ । विश्वव्यापी रुपमा फैल्याउनु पर्दछ ।’
प्रधानमन्त्री ओलीले गौरा लगायत पर्वहरुले नेपालको पहिचान दिएको बताए ।








