जसपा नेपालको सङ्गठन विस्तार अभियान सुरु

अभियानपश्चात् सडक सङ्घर्षमा जाने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनचाहनालाई सम्बोधन गर्न पार्टीले सङ्घर्ष गर्ने बताएका छन् ।

पार्टीको बागमती प्रदेश समितिले आइतबार आयोजना गरेको जनतासँग जसपा नेपाल अभियान अभिमुखीकरणको उद्घाटन गर्दै उनले अभियानको समापनसँगै जनतालाई साथमा लिएर सडक सङ्घर्षमा जाने उल्लेख गरे । जनतालाई अधिकार सम्पन्न बनाउन पुनः जनताका मुद्दा लिएर घरदैलोमा पुग्ने र परिवर्तनको सङ्घर्षमा होमिन अपिल गर्ने अध्यक्ष यादवले बताए ।

अध्यक्ष यादवले सङ्गठनलाई चुस्तदुरुस्त र बलियो बनाउन, उत्पीडित समुदायको हक अधिकारको पैरवी गर्ने उद्देश्यले अभियान सुरू गर्न लागिएको जानकारी दिए ।

यस्तै उनले संविधानलाई समयसापेक्ष परिमार्जन गर्न अपरिहार्य रहेको र सबै राजनीतिक दलको समझदारीबाटै त्यसलाई अगाडि बढाइनुपर्ने बताए । क्षेत्र, जनसङ्ख्याको आधारमा राज्यका निकायमा सहभागी गराउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा कार्यकारिणी समिति सदस्य राजकिशोर यादव, गोविन्द चौधरी, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, लीला सिटौलालगायतले आफ्नो धारणा राखेका थिए ।

जसपा नेपालले आजबाट सङ्गठन विस्तारको चार महिने अभियान शुभारम्भ गरेको छ । पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्यसहित आगामी मङ्सिर मसान्तसम्म आधारभूत सङ्गठन निर्माण अभियान सुरू गरिएको जसपाले जनाएको छ ।

चार महिने सङ्गठन निर्माण अभियानका लागि केन्द्रीय सदस्यलाई सम्बन्धित क्षेत्रमा खटाइएको छ । अभियान सञ्चालन गर्न समयावधि निर्धारण गरी केन्द्रीय सदस्यलाई प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा, बुथलगायत स्थानीयस्तरमा अभियान सञ्चालन गरिनेछ ।

प्रदेशस्तरीय अभियान तालिकानुसार भदौ १५ मा जनकपुर, १६ मा वीरगञ्ज, १८ मा विराटनगर, १९ गते पोखरा, २३ गते भैरहवा, २४ गते नेपालगञ्ज र २५ गते धनगढीमा कार्यक्रम हुनेछ । प्रदेशस्तरीय कार्यक्रम सकेर स्थानीयस्तरको कार्यक्रम सञ्चालन हुनेछ ।

देशव्यापी रूपमा हुने जनपरिचालन अभियानमा सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रम तय भएको जसपा नेपालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =