‘आयल निगमका कर्मचारीहरुकै मिलेमतोमा पेट्रोलियम पदार्थको चुहावट भइरहेको छ’

काठमाडौं । नेकपा(एमाले)की सांसद अमृतादेवी अग्रहरीले नेपाल आयल निगम लिमिटेडका कर्मचारीहरुकै मिलेमतोमा पेट्रोलियम पदार्थको चुहावट भइरहेको बताएकी छन् ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद अग्रहरीले भारतबाट पेट्रोल र डिजेल पाइपलाइनबाट ल्याउने व्यवस्था गरिएपनि चुहावट गर्नका लागि पुनः ट्याङ्करबाट ल्याउन थालिएको भन्दै यसमा कर्मचारीहरुकै मिलेमतो रहेको बताइन् ।

उनले चुहावट रोक्नका लागि पाइपलाइनको व्यवस्था गरेपनि निगमका कर्मचारीहरुले चुहावट गर्नका लागि ट्यांकरमा मगाउन थालेको सूचना पाएको भन्दै यसलाई तुरुन्त रोक्न माग गरिन् ।

उनले ट्यांकरबाट पेट्रोलियम पद्धार्थ ल्याउने भए अर्बांै खर्च गरेर किन पाइपलाइन बनाइयो भनेर प्रश्न समेत गरिन् ।

उनले भनिन्– ‘एक महिना पनि पाइपबाट पेट्रोल र डिजेल नआएर फेरि ट्यांकरबाट आउन थालेको सूचना आयो । पाइपलाइनबाट पेट्रोल र डिजेल नआएको अवस्था छ, फेरि कर्मचारीहरु ट्यांकरबाटै मगाइरहेका छन् । यस्तो गलत हो । चुहावटकै कारण पाइपलाइनको व्यवस्था गरिएको थियो । आयल निगमका कर्मचारी नै भन्थे बाटोभरी चुहावट हुन्छ । त्यसका लागि पाइपलाइन आवश्यक छ । अनि पाइपलाइन बनेपछि फेरि चुहावट ? पाइपलाइनमा अर्बौंको खर्च गरेर फेरि ट्यांकरबाट ल्यायो भने चुहावट कसरी रोकियो ? यसको मतलव नेपाल आयल निगमको कर्मचारीको मिलेमतोमा चुहावट भइरहेको थियो । चुहावट रोक्न त्यही भएर सकिएन । पाइपलाइन हुँदाहुँदै फेरि ट्यांकरबाट ल्याउनुको अर्थ जानिबुझिकन आयल निगमको कर्मचारीहरुकै मिलेमतोमा चुहावट भएको थियो ।’

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद सुरेन्द्र आचार्यले विमानस्थलमा इन्धन भण्डारण गर्दा विमान दुर्घटना भएको अवस्थामा ठूलो क्षति हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले भण्डारण सार्ने अवस्था नहुँदा विमानस्थलकै तल्लो तहमा राख्नु उपयुक्त हुने बताए ।

नेपाली काँग्रेसका सांसद रमेश रिजालले विमानस्थल परिसरमा इन्धन भण्डारण गर्नु असुरक्षित रहेको भन्दै सो स्थानबाट छिटोभन्दा छिटो स्थानान्तरण गर्नुपर्ने धारणा राखे ।

बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव तथा नेपाल आयल निगम लिमिटेडका अध्यक्ष मधुसुदन बुर्लाकोटीले विमानस्थलभित्र रहेको इन्धन भण्डारणलाई तत्कालै बाहिर स्थानान्तरण गर्न सम्भव नभएको बताएक थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =