काम गर्न उमेरले नछेकेका जीतुहर्क,कमाउँछन् वर्षमा १५ लाख

उदयपुर । रौतामाई गाउँपालिका–७ मुर्कुचीका जीतुहर्क तामाङले कृषि र पशुपालनमा पेशाबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै आएका छन् । उमेरले ८० वर्ष पुगिसकेका भएपनि काम गर्न उनलाई उमेरले छेकेको छैन ।
उनले १३ रोपनी जग्गामा फलफूलखेती गरेका छन् । उनले सबैभन्दा धेरै लिच्ची र कागती रोपेका छन् । कागती बिक्रीबाट वार्षिक रु. पाँच लाख आम्दानी गर्ने गरेको उनले बताए । विगत ३० वर्षदेखि तामाङले खसीबाख्रा पाल्दै आएका छन् । अहिले उनको गोठमा एक सयको सङ्ख्यामा खसीबाख्रा छन् । एक सयमध्ये ३८ वटा त खसीमात्र छन् ।
उनले एक हजारको सङ्ख्यामा लोकल कुखुरा र एक हजार हाँस समेत पालेका छन् । खसीबाट वार्षिक रु. सात लाखसम्म र हाँस कुखुरा बिक्री गरी रु. चार लाखसम्म आम्दानी हुने गरेको उनले बताए । विगतमा राजनीतिमा समेत सक्रिय तामाङ अहिले राजनीति छाडेर कृषिकर्ममा लागेका छन् ।
“मैले कृषि पेशा गर्दागर्दै पनि पञ्चायत व्यवस्थामा एकपटक प्रधानपञ्च भएँ । बहुदल आएपछि एकपटक गाविस अध्यक्ष पनि भएँ”,“राजनीति त सेवा हो, आर्थिक आम्दानी नगरी परिवार र जीवन नचल्ने हुनाले राजनीतिभन्दा कृषिलाई निरन्तरता दिएको हुँ,उनले भने ।
अहिले पनि तामाङ दैनिक बिहान उज्यालो भएदेखि बेलुका ६ बजेसम्म फलफूल बगानमै भेटिन्छन् । साँझ ७ बजेदेखि ९ बजेसम्म खसीबाख्रा, कुखुरा, हाँसको रेखदेख गर्ने गर्छन् ।
उनका अनुसार चार छोरामध्ये उनी साहिँला छोरासँग बस्ने गरेका छन् । हजुरबुबा र बुबाको पालादेखि कृषि तथा पशुपालन सिकेको उनले बताए । उनलाई नजिकबाट जान्ने जनता मावि मुर्कुचीका प्रधानाध्यापक खड्ग थापामगरले उनी कर्मठ कृषक रहेको बताए । “यस्तो व्यक्ति देशमा बिरलै पाइन्छन्, तीमध्येका एक हुनुहुन्छ । उहाँ सफल कृषकमात्र नभई समाजसेवी पनि हुनुहुन्छ,”उनले भने ।
पञ्चायतकालमा प्रधानपञ्च हुँदा रौता मुर्कुचीको जनता माध्यमिक विद्यालय स्थापना गरेका उनले नामेटार गाउँका दुईवटा विद्यालय स्थापना गर्न पहल गरेको प्रधानाध्यापक थापामगरले बताए ।
जीतुहर्क एक सङ्घर्षशील र सफल कृषक भएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताए । गाउँका जनप्रतिनिधि हुँदा जनताको सेवा गरेको अध्यक्ष मगरले बताए ।
असी वर्षको उमेरमा अझै तन्नेरी जाँगर र जोशका साथ कृषि पेशामा सक्रिय तामाङ आफू यही पेशाले निरोगी भएको बताए । “सात वर्षको उमेरदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन”, उनले भने, “यही काम गर्दागर्दै मर्न परोस् अरु मलाई केही चाहिएको छैन । म यसमै सन्तुष्ट छु ।”
उनले दैनिक रुपमा दूधभात, मासु र फलफूल खाने गरेका छन् । आम्दानी राम्रो हुने गरेकाले गाउँघरका छिमेकीलाई आर्थिक सङ्कट पर्दा उनले सरसापटी दिने गरेका छन् ।
८० वर्षको उमेरमा पनि उनको जाँगर देख्ने जोकोहीले काम गर्न उमेरले नछेक्ने रहेछ भन्ने गरेको मुर्कुचीका स्थानीय देवप्रसाद खड्काले बताए ।








