तनहुँको बन्दीपुरमा बाघजात्रा प्रदर्शन

तनहुँ । पर्यटकीय तथा सांस्कृतिक नगरी तनहुँको बन्दीपुरमा बाघजात्रा निकालिएको छ । संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित शनिबार राति खड्गमाई सांस्कृतिक परिवारको आयोजनामा बाघजात्रा प्रदर्शन गरिएको हो । बाघजात्रा प्रदर्शन अगाडि शनिबार बिहान सर्वसाधारणलाई निम्तो बाँडिएको थियो ।
जात्राहरूको संरक्षण गर्ने उद्देश्यसहित बाघजात्रा देखाइएको सांस्कृतिक परिवारका सचिव सुजन श्रेष्ठले जानकारी दिए । आफ्नो संस्कृति, रितीरिवाज लोप हुन नदिनुपर्ने उल्लेख गर्दै यसको संरक्षण गर्नुपर्ने उद्देश्यसहित बाघजात्रा प्रदर्शन गरिएको श्रेष्ठले बताए ।
परिवारका अध्यक्ष गेहेन्द्र प्रधानले बन्दीपुरका नेवार समुदायले यहाँ जात्राहरूका संरक्षण गर्दै आएको जानकारी दिए । उनका अनुसार बाघजात्राको दिन गरिएको अभिनयअनुसार दुःख दिने बाघलाई सिकारीले लखेटेर मारेका छन् । बाघजात्रामा बाघ, डाक्टर, नर्स, सिकारी, पहलवान, राजाको भूमिकामा यहाँका नेवार समुदायका व्यक्तिहरूले अभिनय गरेका थिए ।
बन्दीपुरमा जात्राको संरक्षणले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा मिलेको नेवाः पुचका अध्यक्ष किसान प्रधानले बताए । यहाँ दुई सय ५० वर्ष पहिलेदेखि नेवार समुदायले विभिन्न जात्रा प्रदर्शन गर्दै आएका छन् ।
प्रधानले भक्तपुरबाट बसाइँसराइ गरी आएका नेवार समुदायले यहाँ संस्कृतिको संरक्षण गरिरहेको उल्लेख गरे । बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आइएको छ । यहाँका नेवारहरूले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाइने गरिन्छ ।
भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दीपुरलाई थाततलो बनाए । भक्तपुरबाट उनीहरूसँगै भक्तपुरे नेवारी संस्कृति पनि भित्रिएको थियो । पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दा भक्तपुरका नेवारहहरू बन्दीपुर प्रवेश गरेको इतिहास छ ।
व्यापार गर्न बन्दीपुर छिरेका भक्तपुरका नेवारहरूकै कारण यहाँ आजसम्म विभिन्न जात्राको परम्परा छ । बन्दीपुरको बस्ती मगर समुदायले बसालेका हुन् । त्यसैकारण यसको नामकरण मगर भाषामै गरिएको छ ।
मगर भाषामा वन भनेको जङ्गल र डी भनेको पानी हो । विस्तारै मगर समुदाय यहाँबाट पलायन हुन थाले र नेवार समुदायको उपस्थिति बढ्न थालेको बताइन्छ ।
बन्दीपुर बजारमा एक सय ३४ घरपरिवार नेवार समुदायको छ । यहाँ भक्तपुरे शैलीका घर निर्माण गरिएका छन् । यहाँका नेवार समुदायले बिस्केट जात्रा, लाखेनाच, गाईजात्रा, बाघजात्रा, रोपाइँजात्रा लगायत मनाउँदै आएका छन् ।








