प्रदीप गिरि हामी सबैको मार्गदर्शक : गृहमन्त्री लेखक

सिरहा । गृहमन्त्री रमेश लेखकले समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरि नेपाली राजनीतिमा सबैको मार्गदर्शक रहेको बताएका छन् ।

बिहीबार सिरहाको लहान नगरपालिका–१४ स्थित ‘गिरि आश्रम’मा गिरिको दोस्रो वार्षिक स्मृति समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

“समाज, दर्शन र अर्थशास्त्रमा स्व गिरिको अद्भुत् ज्ञान थियो । जसले हामी राजनीतिकर्मीलाई सधैँ मार्गदर्शन र उत्प्ररित गरिरहन्छ”, गृहमन्त्री लेखकले भने, “हामी त उहाँको अगाडि कुवा हौँ । एउटा कुवाले समुद्रको गहिराइको बखान गर्न सम्भव हुँदैन । त्यसैले प्रदीप गिरि हामी सबैको मार्गदर्शक रहिरहनुभएको छ ।” गिरिको व्यक्तित्व र निष्ठाको कारणले सबै पार्टीका नेता कार्यकर्ता तथा सिङ्गो देश र अन्य मुलुकले पनि उत्तिकै सम्मान दिएको लेखकको भनाइ थियो ।

गिरिलाई सम्झिँदै मन्त्री लेखकले भने,“उहाँको उच्च विचार र राजनीतिक निष्ठाबाट हामीले ऊर्जा लिनुपर्छ । उहाँ जस्तो अद्भुत र अलौकिक व्यक्ति गुमाउनु यो मुलुकका लागि अत्यन्त दुःखको विषय हो, जसको अभाव मुलुकलाई सधैँ खड्कीरहने छ ।” गृहमन्त्री लेखकले नेता गिरिको आउने पुस्ताको लागि समेत विचार, चिन्तन र ऊर्जा प्राप्तिमा अमर रहिरहने विश्वास व्यक्त गरे ।

प्रदीप गिरि मेमोरियल ट्रष्टले आयोजना गरेको उक्त कार्यक्रममा स्व. नेता गिरिको पूर्णकदको शालिकमा मन्त्री लेखकले माल्यार्पण गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रसको केन्द्रीय सदस्य एवं पूर्वमन्त्री पदम नारायण चौधरी, मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, कांग्रेसका मधेश प्रदेश सभापति तथा मधेश प्रदेश सरकारकै पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्ण यादव, नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलगायतले मन्तव्य राखेका थिए ।

लहान–१४ को खुट्टी खोलाको छेउमा स्व गिरि वि.सं. २०४६ सालपछि बस्दै आउनुभएको ठाउँ जसलाई प्रदीप गिरिको आश्रम भनेर चिनिने गरिन्छ ।

स्वर्गीय गिरिलाई बिपीको समाजवादी चिन्तनको सच्चा व्याख्याताका रूपमा समेत हेर्ने गरिन्छ । नेता गिरिको ललितपुर नक्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा दुई वर्षअघि २०७९ भाद्र ४ गते ७५ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + two =