रास्वपालाई मुकुल ढकालको आस, अन्तिम मौकामा होलान् त पास ?

काठमाडौं । रास्वपाले पार्टीबाट हटाइएका महामन्त्री तथा केन्द्रीय सदस्य डा. मुकुल ढकालसँग स्पष्टीकरण सोध्ने भएको छ । बुधबारको केन्द्रीय समिति बैठकबाट डा. ढकालसँग दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

कार्यवाहक प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा ‘केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका आधारमा पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुलुक ढकाललाई पार्टी विधानको धारा ५६ (४) बमोजिम अन्तिम पटक स्पष्टीकरणको मौका दिने’ उल्लेख छ । ढकाललाई महामन्त्रीबाट पदमुक्त गर्ने रास्वपाको निर्णयले कानुनी मान्यता पाउने वा नपाउने विषय जटिल बनेको सन्दर्भमा फेरि अन्तिम पटक स्पष्टीकरणको मौका दिने भनिएको हो ।

महामन्त्रीलाई हटाउने निर्णय गर्नुअघि पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐन, नियमले तोकेका प्रक्रिया पूरा नभएको भन्दै ढकालले दिएको निवेदनमा आयोगले अध्ययन गरिरहेको छ । रास्वपाले महामन्त्री ढकाललाई पदमुक्त गरिएको जानकारी गराउँदै त्यसलाई दल दर्ता किताबमा अभिलेखीकरण गर्न गत साउन १७ मा आयोगमा पत्राचार गरेको थियो । त्यसअघि नै ढकालले आफूलाई गरिएको कारबाही प्रक्रिया नै त्रुटिपूर्ण रहेको जिकिर गर्दै आयोगमा निवेदन दिएका थिए । त्यसबारेमा निर्वाचन आयोगले आवश्यक सम्पूर्ण प्रक्रिया बुझेर काम गरिरहेको छ ।

इलाममा गत वैशाखमा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए । उक्त प्रतिवेदनमा सभापति लामिछानेको कार्यशैली र पार्टी सञ्चालन विधिमाथि आलोचना गरिएको थियो । आन्तरिक दस्ताबेज मिडियामा लगेर सार्वजनिक गरेको आरोप लगाउँदै रास्वपाले ढकाललाई असार १२ मा सामान्य स्पष्टीकरण सोधेको थियो । जवाफ दिन असार २१ सम्म समय दिइएकामा असार १९ मै ढकाललाई पदबाट निलम्बन गरिएको थियो भने असार २५ मा पदबाट बर्खास्त गरियो ।

सभापतिमाथि मुकुलका प्रश्न
मुकुललाई महामन्त्रीबाट पदमुक्त गरेको निर्णय निर्वाचन आयोगमा विचाराधीन रहेकै बेला रास्वपाले गत बुधबार अर्को स्पष्टीकरण सोधेको थियो । त्यसको भोलिपल्ट पत्रको बारेमा सभापति रवि लामिछानेलाई स्पष्टीकरण पठाउँदै उनले भनेका छन्, ‘मैले मिति २०८१।०४।२८ मा तपाई रवि लामिछाने, पार्टी सभापतिलाई सम्बोधन गरी ममाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु तपाई रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरडूश शासन चलाइरहेको स्पष्ट हुन्छ ।’

उनले आजसम्म लामिछानेसहित कुनै पनि नेतालाई झुटो आरोप नलगाएको भन्दै ती सबै सत्यमा आधारित रहेको जिकिर गरेका छन् । उनले लामिछानेमाथि नै केही प्रश्न समेत गरेका छन् । जसमा उनले सहकारी ठगी प्रकरण, पासपोर्टको विषय र गृहमन्त्रीका रुपमा गरेका कामकारबाहीको सवाल समेटिएको छ । साथै उनले आज रास्वपाको छवि, आफ्नो कारणले नभई लामिछानेको कारणले धुमिल हुँदै गएको पनि उनले जिकिर गरेका छन् ।

मुकुलका ३ प्रश्न :-
१) सहकारी ठगी मुद्दामा तपाई माथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने तपाईँले आजको दिन सम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटक पटक ढाट्नु भएको छ। म स्वयंले पनि तपाईको ढाँटलाई सत्य मानेर बसिरहेको थिए तर असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारडा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईँमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ । सर्वोच्च अदालतको फैसलालाई तपाई मान्ने कि नमान्ने फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ? देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफू माथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ । छानबिनका लागी तयार हुने ऑट छ रवि लामिछाने ज्यू ?

२) तपाईँले दुई वटा पासपोर्ट प्रयोग गरेको तथ्य बाहिरिइसकेको छ। आफ्नो अपराध लुकाउन कसरी राज्यका निकायलाई प्रयोग गर्नु भयो, घाम कै छर्लङ्ग यो विषय निकट भविष्यमा अदालतले व्याख्या गर्ने नै छ। विद्यमान ऐन कानुन अनुसार तपाई मन्त्री त के सांसद बन्न पनि अयोग्य ठहर हुन सक्नु हुन्छ। तपाईंले विगतमा गरेको अपराधका लागी पार्टी बलि चढ्नु पर्ने आँट छ भने, आफ्ना सबै पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्नुहोस्। आँट छ? रवि लामिछाने ज्यू ?

३) नीतिगत काम मात्र गरिन्छ भनेर गृहमन्त्री बन्नु भएको तपाईँले गृह मन्त्रालय समाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नु भयो, जनता र पार्टीका साथीहरूलाई स्पष्ट पार्नुहोस्। का.स.मु.मा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा जुन चलखेल गर्न भयो, त्यो भ्रष्ट्राचारको सप्रेत होइन आंट छ भने मन्त्री हुँदा आफूले गरेका प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीति अन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस्, अमेरिकामा रहेका आफ्नै हितैषीहरूको बैंक स्टेटमेन्ट सार्वजनिक गर्नुहोस्। ऑट छ, रवि लामिछाने ज्यू ?

उल्लिखित प्रश्न बाहेक पनि थुप्रै प्रश्नहरू बाँकी नै छन्। समीक्षा प्रतिवेदनमार्फत पनि कैयन प्रश्नहरू जनताले तपाईँलाई सोधेका छन् । जनताका यी सबै प्रश्नको जवाफ दिने ऑट गर्नुहोस्। आफूमाथि लागेका आरोपउपर निष्पक्ष स्वतन्त्र छानबिन समिति गठन गर्ने आँट गर्नुहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 16 =