नेपालगञ्जबाट दुई सातादेखि शिक्षक बेपत्ता

कर्णाली । जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन भएका छन् । शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालय समाइलामा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन् ।

उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए । साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट बेलुका ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै हिँडेका आफन्त गोपी सिंहले जानकारी दिए ।

‘साउनमा विद्यालय बिदा भएकाले भारतमा म काम गर्ने मोड्न फेसन सुपर मार्केटमा केही कपडा तथा सामग्री लिन जाउँ भनेर हामी १७ गते दैलेखी मीना होटलमा पुगेका हौँ । जेठान दाइले जुम्लाबाट ४० हजार पठाउँदै हुनुहुन्छ भनेपछि पर्खिँदा धेरै बसाइँ भयो । २५ गते दिनभरि कोठामा सुतेर बेलुका ४ बजे बाहिरिएपछि उहाँ फर्कनुभएको छैन’, सिंहले भने ।

गत साउन २६ गतेसम्म आउँछन् कि भनेर कुरेको बताउँदै धनबहादुर नआएपछि घरमा ससुराबुबा हंसबहादुर शाहीलाई खबर गरेको सिंहले बताए । ससुरा नेपालगञ्जमा आएर खोज्दा नभेटिएपछि आफैँ निवेदक भएर नेपालगञ्ज जिल्ला प्रहरी कार्यालयमा खोजीदिनका लागि उजुरी हालेको उनले बताए । यही भदौ २ गते नेपालगञ्जबाट जाजरकोट फर्किसक्नुभएका सिंहले सम्पर्कविहीन शाहीको खोजीमा सहयोग गरिदिन सबैलाई आग्रह गरे ।

शिक्षक शाहीका बुबा हंसबहादुरले छोरा र ज्वाइँ गोपी सिंह सोही होटेलमा सँगै बसेको तर साउन २५ गते बाहिर गएर आउँछु भनेर निस्किएको छोरा नफर्केको खबर पाएपछि आफू त्यही पुगेको बताए । उनले भने, ‘नेपालगञ्ज पुगेर जताततै खोजियो तर उसलाई भेटाउन सकिएन । फोन पनि बन्द छ । खाना खाएको १६ हजार नौ सय पुगेपछि ज्वाइँ गोपी छोरा आउने आशमा त्यही बस्नुभएको रहेछ ।’

होटल धनीलाई पछि तिरौँला भन्ने भाका गरी घर फर्केको पीडित शाहीले दुखेसो पोखे । हराएको धेरै दिनसम्म सम्पर्कमा नआएपछि जतिसक्दो चाँडो खोजी दिन उनले प्रहरी प्रशासनलाई आग्रह गरे ।

उक्त होटल धनी मीना सुनारले गत साउन १७ गते आफ्नो होटलमा पुगेका दुवै जना दश दिन जति होटलमा बसेका बताइन् । ‘साउन २५ गते शिक्षक शाही कतिबेला बाहिरिनुभयो थाहा पाएनौँ । उनी नफर्केपछि खोजी सुरु गरेका थियौँ’, उनले भनिन्, ‘दुवैले यहाँ बस्दा खाएको १६ हजार नौ सय उनको बुबा, श्रीमती र बहिनीले पछि तिरौँला भनी नागरिकतालगायत आवश्यक कागजात लिएर घर फर्किएका छन् । हराएका शाहीको आजसम्म कुनै खबर पाएका छैनौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =