खोकनामा रुद्रायणी जात्रा शुरु

काठमाडौं । काठमाडौं उपत्यकाको नेवारी समुदायको चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा शुरु भएको छ ।

खोकनामा रहेकी रुद्रायणीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधिअनुसार पूजा गर्ने चलन रहेको छ । खोकनाको मन्दिरमा पूर्णिमाको दिन(हिजो) विशेष पूजा गरेर रुद्रायणीलाई जात्राको लागि तयार गरिन्छ ।

यसपछि सिकाली चौरमा लगिएको रुद्रायणीलाई खोकनाका विभिन्न पाटीहरूमा दर्शन र पूजाका लागि ल्याइन्छ । पौराणिक कालमा रुद्रायणीको पूजा र जात्रा महिना दिनसम्म चल्ने भएपनि यसलाई छोट्याएर अहिले ३ दिनमा सारिएको हो ।

यस समयको पूजालाई नेवारी समुदायले ‘घँज्या’ भन्दछन् । यस्तै भोलि फर्सि र काँक्रोको पूजा गर्दै यो जात्रा समापन गरिन्छ । खोकनाको रुद्रायणीको जात्रा कृषिसँग जोडिएको स्थानीयको मत रहेको छ । ‘सि’ भनेको फलफूल र ‘काली’ भनेको फल्ने ठाउँ भएर काठमाडौं उपत्यका आफैँ सिकाली रहेको भनिन्छ । यो जात्रामा विशेषगरी फलफूल दान गर्ने चलन छ ।

स्थानीय उदयकुमार डंगोलले कुराकानी गर्दै रुद्रायणी मन्दिरमा रहेका देवताहरूलाई खटमा निकालेर सिकाली चौरमा पुर्‍याइ पूजाआजा गरी रुद्रायणी जात्रा मनाउने गरिएको बताए । उनले सिकाली चौरमा पुर्‍याएर विधिपूर्वक देवताहरूको पूजाआजा गरेपछि देवताहरूलाई पुनः रुद्रायणी मन्दिरमा फिर्ता ल्याइन्छ र फिर्ता ल्याउने पनि आफ्नै विधिसम्मत तरिका रहेको बताए ।

उनकाअनुसार देवतालाई खटमा बसाएर बाजागाजासहित नाचगान गर्दै ल्याएर पुनः रुद्रायणी मन्दिरमै देवतालाई पुनः स्थापित गरिन्छ । पूजाआजा सम्पन्न भएपश्चात मन्दिरमा भोज गरिन्छ । र राति डबलीमा गएर जात्रा गर्ने परम्परा रहँदै आएको छ । उनले खोकनामा गाईजात्रा भने भोलि मात्रै मनाइने बताए । भोलि मृतकको परिवारबाट एक वर्षभित्र साफर जाने भनी कार्यक्रम गरिने र भोलि पनि देवगणहरूको विशेष पूजासहित भोजन हुने उनको भनाई छ ।

स्थानीय ईश्वर डंगोलले हिजो क्वाँटी खाने दिनमा भ्यागुतालाई भात खुवाउने चलन रहेको बताए । भ्यागुतालाई खुवाएर राखिराखेको भागबाट आज बेलुका औजारहरू पूजा प्रचलन रहेको पनि उनले जानकारी दिए । उनले कुनै घरको परिवारका सदस्यको निधन भएको छ भने सो परिवारले दान गर्ने चलन रहेको बताए ।

खोकनाका नेवारी समुदायले रुद्रायणीको जात्रालाई निकै हर्षोल्लासका साथ मनाउने गरेका छन् । परम्परा जोगाउनका लागि पछिल्लो पुस्ताहरूको पनि उत्तिकै साथ रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =