प्रधानमन्त्रीलाई अनन्तको सुझाव- सहरमा बंगलादेशको हावा चल्न थालेको छ, चनाखो हुनुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी ओलीलाई सचेत रहन सुझाव दिएका छन् । पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी रोल्पाको २३औं सम्मेलनलाई सम्बोधन गर्दै उपमहासचिव पुनले यस्तो आग्रह गरेका हुन् ।
उनले बंगलादेशको राजनीतिक हावा काठमाडौँसहित देशका ठूला सहरमा चल्न थालेको भन्दै सचेत रहन सुझाव दिए । आफ्नो पार्टीको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई निरन्तरता दिन सरकारलाई उनले आग्रह गरे । सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्न बिचौलियाहरूको संरक्षण गरिरहे जनताले लखेट्ने चेतावनी उपमहासचिव पुनको चेतावनी छ ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरूको बीचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिन भनेको सुन्दा मानिसहरू हाँस्ने गरेको उनले बताए । ‘केपी ओलीले म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, भ्रष्टचारीको मुख हेर्दिन भन्दै आउनुभएको छ’, पुनले भने, ‘दायाँबायाँ विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई राखेर यसो भनेको सुन्दा मानिसहरू हाँस्ने गर्छन् । मान्छेहरू भन्छन् कि ओलीजीले भ्रष्टाचारीको मुखमा पो नहर्ने भनेको त दायाँबायाँ नै राख्दिन भन्नुभएको छैन ।’
आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात कांग्रेस-एमालेबीच सहमति गरिएको आरोप उनले लगाए । उनले भुटानी शरणार्थी र गिरीबन्धु टीस्टेट प्रकरणमाथि छानबिन हुने भएपछि र बालुवाटारमा हड्पिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्यासित रुपमा कांग्रेस-एमालेबीच गठबन्धन भएको जिकिर गरे ।








