शान्तिप्रक्रियालाई चाँडै निष्कर्षमा पुर्याउँछौँ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विगत १८ वर्षदेखि थाती रहेको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार ‘चौपातो नेपाल’द्वारा कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् साङ्गीतिक काव्य गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले शान्तिप्रक्रिया अन्तिम चरणमा पुगेको बताए । मुलुकका प्रमुख दुई राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार देशमा दिगो शान्ति र सुशासन कायम गरी जनतामा देखिएको निराशा चिर्न सफल हुने गृमहन्त्री लेखकले विश्वास व्यक्त गरे ।
राजनीतिक अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेको उनले बताए । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भए पनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको उनको भनाइ थियो ।
सरकार निर्माणका क्रममा विभिन्न राजनीतिक दल सम्मिलित समीकरण बन्ने र भत्किने क्रम चल्दा सबै क्षेत्रमा अस्थिरताको प्रभाव परेको उल्लेख गर्दै विधिको शासन सुनिश्चित गर्न वर्तमान सरकार गठन गर्न आवश्यक भएको उनले बताए ।
शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कामय गर्न र रोजगारी सिर्जना गर्न वर्तमान सरकार बनेको समेत लेखकले बताए ।
“सामान्यतया संसद्मा रहेका ठूला दल मिलेर सरकार बनाउने अभ्यास स्वाभाविक देखिँदैन । कतिपय अवस्थामा स्वाभाविक मानिँदैन”, गृहमन्त्री लेखकले भने,“तर मुलुकमा महत्वपूर्ण ‘एजेन्डा’ अगाडि आउँछन् । त्यसको कार्यसम्पादन गर्नुपर्ने हुन्छ । राष्ट्रका साझा कार्यभार सम्बोधन गर्नुपर्ने हुन्छ । त्यस्तो बेलामा देशका ठूला पार्टी एक ठाउँमा उभिएका हाम्रो इतिहास छ ।”
सुदूरपश्चिम प्रदेशलाई भारत र चीनसँग जोड्न चाँडै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापन गर्ने सरकारको योजना रहेको गृहमन्त्री लेखकले जानकारी दिए । महाकाली करिडोर, सेती लोकमार्गलगायत महत्त्वपूर्ण परियोजना अगाडि बढाएर छिमेकी देश भारत तथा चीनसँग जोड्न लागिएको उनले बताए ।
“तिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गरी तेस्रो मुलुकका नागरिकलाई कैलाश मानसरोवर जाने बाटो बनाउने योजना अगाडि बढाएका छौँ । सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्छौं । यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्छ”, गृहमन्त्री लेखकले भने ।
सो अवसरमा सुदूरपश्चिमको भाषामा अमूल्य योगदान दिनुभएका आरडी प्रभाष चटौत, नारी सशक्तीकरण र साहित्य लेखनमा योगदान दिनुभएकी विजया श्रेष्ठ केसी, नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, नेपाली शास्त्रीय गीत–सङ्गीतको क्षेत्रका तिलकसिंह पेला, सुदूरपश्चिमको भाषामा योगदान दिएका डम्बर शर्मा बडू, प्रशासन क्षेत्रमा योगदान पु¥याएका डा.हरिदत्त पाण्डेय र साहित्यमा योगदान दिएका हेमबाबु लेखकलाई सम्मान गरिएको थियो ।








