जनताको अधिकार खोस्न खोजिएको होइन : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन् ।
काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) जनताको अधिकारका लागि लडेको दल भएको जिकिर गर्र्दै उनले भने,“संविधान संशोधन गरेर सरकारले भएको अधिकांश व्यवस्था कटौती गर्छ भन्ने दुष्प्रचार भइरहेको छ, कांग्रेस र एमाले अधिकारका लागि लडेको दल हो, यी दुई दल सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन ।”
राजनीतिक स्थायित्व दिनका लागि कांग्रेस एमालेसँग मिलेको उपप्रधानमन्त्री सिंहले बताए ।
छोटो समयमा नै सरकार परिवर्तन संगै टिक्ने,नटिक्ने अन्यौलतामा रहने सरकारले केही गर्न नसक्ने भएकाले दुई ठूला दल मिलेको उनले बताए ।
वर्तमान सरकारले अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास गरिरहेको उल्लेख गर्दै मन्त्री सिंहले अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले काम गरेर देखाउने बताए ।








