दलित समुदायमाथि अहिले पनि भेदभाव र दमन भइरहेको छ : सांसद विश्वकर्मा

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथि अहिले पनि विभिन्न बहानामा भेदभाव र दमन भइरहेको बताएका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकार दलित समुदायमाथि भइरहेको भेदभावमा गम्भीर बन्न नसकेको बताए । उनले दलितलाई विभिन्न बहानामा परम्परागत सोच र शैलीले थिचेर राखेको बताए । उनले सरकारमा दलित समुदायको शून्यता रहेको बताए ।

उनले मन्त्रीपरिषद्मा बस्नेसमेत अधिकार नभएको राज्यमन्त्री बनाएर सरकारले दलित समुदायमाथि अझ अपमान गरेको बताए । उनले अधिकारमा सीमित राज्यमन्त्री बनाएर थप अपमानित गराउनु भन्दा नबनाएको भए नै राम्रो हुने बताए ।

उनले भने ‘आज दलितलाई विभिन्न यो वा त्यो बहानामा भेदभाव र दमन भइरहेको छ । हामीले हरेक गाउँमा, हरेक टोलमा हरेक जिल्लामा देखिरहेका छौँ । जहाँ कुटपिट, अपहरण, हत्या, बलात्कार जस्ता जघन्य अपराध भइरहेका छन् र त्यसले न्याय पाइरहेको छैन । हामीले पटक पटक भन्ने गरेका छौँ । यस विषयमा सरकार गम्भीर भएको छैन । आज दलितलाई विभिन्न बहानाहरूमा फेरि पनि उही ढंगको परम्परागत सोच र शैलीले थिचेर बाध्य पारिएको छ । यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सरकारको ध्यान जाओस् । सरकारमा दलित समुदायको शून्यता छ । क्याबिनेटमा बस्नेसमेत अधिकार नभएको राज्यमन्त्री बनाएर सरकारले अझ दलित समुदायमाथि अपमान गरेको छ । अधिकारमा सीमित राज्यमन्त्री बनाएर थप अपमानित गराउनु भन्दा नबनाएको भए नै राम्रो हुन्थ्यो ।’

सांसद विश्वकर्माले नीति निर्माणका उच्च ओहोदामा दलित समुदायलाई नियुक्ति गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =