उपत्यकाको सवारी दुर्घटनामा ज्यान गुमाउने महिलाभन्दा पुरुष तेब्बरले बढी
तीन वर्षमा ५ सय ५५ जनाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा तीन वर्षको अवधिमा सवारी दुर्घटनाबाट ५ सय ५५ जनाले ज्यान गुमाएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/०८१ सम्मको अवधिमा ४ सय ३० पुरुष र १ सय २५ महिला गरी ५ सय ५५ जनाको मृत्यु भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ८ हजार ८ सय ८१ सवारी साधन दुर्घटना हुँदा १ सय २९ पुरुष र ४८ महिला गरी १ सय ७७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/०८० मा १० हजार ६ सय ७५ सवारी साधन दुर्घटना भएका छन् ।
दुर्घटनाबाट १ सय ८७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ सय ४१ पुरुष र ४६ महिला रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा १० हजार बढी सवारीसाधन दुर्घटना हुँदा १ सय ६० पुरुष र ३१ महिला गरी १ सय ९१ जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता खड्काले बताए ।
चालकको लापरबाहीका कारण बढी मात्रामा सवारी दुर्घटना हुने गरेको प्रवक्ता खड्काले बताए । ‘ट्राफिक प्रहरीले ट्राफिक सचेतना र चेकजाँचको गतिविधि दैनिक रुपमा सञ्चालन गर्दै आएको छ,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता खड्काले भने, ‘गन्तव्यमा पुग्न हतार गरेर चालकले तीव्र गतिमा सवारीसाधन चलाउँदा दुर्घटना बढी हुने गरेको छ ।’
यसका साथै मादक पदार्थ, लागूपदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा समेत दुर्घटना हुने गरेको प्रवक्ता खड्काले बताए । यान्त्रिक गडबडी, सडकको अवस्था तथा पैदल यात्रीको लापरबाहीले पनि दुर्घटना हुने गरेको उनको भनाई छ ।








