ब्रिटिस कलेजले पायो नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेसन पार्टनर’को मान्यता
ब्रिटिस कलेज ‘ग्रिनिङ एजुकेसन पार्टनर’को नेपालकै पहिलो सदस्य
काठमाडौँ । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गत ‘द ब्रिटिस कलेज’ले नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेसन पार्टनर’ (हरित शिक्षा साझेदारको) मान्यता प्राप्त गरेको छ ।
कलेजले संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) को दिगो विकासका लागि शिक्षा अन्तर्गत यस विश्वव्यापी साझेदारीले शिक्षाको माध्यमबाट जलवायु संकटलाई सम्बोधन गर्ने लक्ष्य राख्दै व्यक्तिगत र सामाजिक रूपान्तरण ल्याउनका लागि आवश्यक पाठ्यक्रमको परिवर्तनलाई समर्थन गर्ने जनाएको छ ।
ब्रिटिस कलेजले प्रदान गर्दै आएको बीबीए शैक्षिक कार्यक्रम अन्तर्गत ‘इनोभेट फर इम्प्याक्ट’ (आईएफआइ) परियोजनामा गरेको उत्कृष्ट कार्यको परिणामस्वरुप कलेजले संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) बाट यो मान्यता पाएको हो ।
हरित शिक्षा प्रवर्धनमा ब्रिटिस कलेजको प्रयास तथा दृढ संकल्पको आधारमा गरिएको मूल्याङ्कन प्रक्रिया पछि यस मान्यता प्रदान गरिएको कलेजले जनाएको छ । ब्रिटिस कलेज नेपालमा यो मान्यता प्राप्त गर्ने पहिलो विद्यालय भए सँगै आफूलाई वातावरणीय रूपमा सचेत शिक्षणमा अग्रगामीको रूपमा स्थापित गरेको कलेजले जनाएको छ ।
यस मान्यतासँगै कलेजले युनेस्कोको विभिन्न स्रोतहरू जस्तै, ज्ञान प्राप्त गर्ने, विभिन्न कार्यक्रमहरूमा सहभागिता, परामर्श लगायतका अवसरहरूमा पहुँच प्राप्त गरेको छ । त्यसैगरि कलेजलाई आफ्नो नेटवर्क विस्तार गर्न र संयुक्त राष्ट्र संघको अन्य एजेन्सीहरूसँग सम्बन्ध निर्माण गर्ने ढोका खुलेको छ ।
बीबीए तथा आईएफआई परियोजनाका प्रमुख सुनिता बस्नेतले भने ‘हाम्रो संस्थामा सस्टेनेबिलिटी र ग्रिन एजुकेसनबारे साझा दृष्टिकोण रहेको छ । त्यसैले यो उपलब्धि प्राप्त गर्नमा ब्रिटिस कलेजका सबै विभागका सहकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको छ । हामी यस महत्वपूर्ण उपलब्धिमा कृतज्ञ छौं । साथै, आगामी दिनमा पनि यस्तो कार्यलाई बढवा दिन हाम्रो कलेज सक्षम रहेको छ ।’
ग्रिनिङ एजुकेसन पार्टनरको रुपमा मान्यता पाएको ब्रिटिस कलेज, शिक्षा तथा अन्य संस्थाहरूलाई हरित तथा दिगो शिक्षालाई अग्रभागमा राखेर अघि बढ्न प्रेरित गरेको कलेजले जनाएको छ ।