राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागू गरौँ : सांसद शेर्पा
काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय परिचयपत्रलाीई सबै क्षेत्रमा लागू गर्नुपर्ने बताएका छन् ।
बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा राष्ट्रिय परिचयपत्रको बारेमा धेरै प्रश्न उठ्ने गरेको बताए ।
उनले सरकारबाट गल्ती कमजोरी भएको भए पनि त्यसमा सुधार गरेर अघि बढ्नुपर्ने बताए ।
उनले राष्ट्रिय परिचयपत्र लागू गर्दा निश्चित समय तोक्नुपर्ने बताए । उनले सामाजिक सुरक्षा भत्ताहरुमा हुने अनियमितता पनि राष्ट्रिय परिचयपत्र लागू भएपछि कम हुँदै गएको बताए ।
उनले राष्ट्रिय परिचय पत्र लागू गराउन सबैले पहलकदमी लिनुपर्ने बताए ।
उनले भने– ‘देशमा राष्ट्रिय परिचयपत्रको बारेमा धेरै कुरा उठ्ने गरेको छ । सरकारबाट गल्ती कमजोरी भएको छ । नेशनल आइडीलाई कुनैपनि ठाउँमा लागू गर्दा एक वर्ष वा डेढ वर्ष समय हुनुपर्छ । तर आज यो देशमा नेशनल आइडी लागू भइसकेपछि देशले धेरै फाइदाहरु महशुस गर्नुपर्छ । हाम्रो देशमा जुन किसिमको वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ताहरु छन्, त्यो तीन, चार ठाउँमा नै लिने गरेको रहेछ । नेशनल आइडीमा जोड्न थालेपनि कुनैपनि व्यक्तिले लिँदा एक ठाउँ भन्दा अर्को ठाउँमा लिन पाउँदैन । यो एकदमै राम्रो छ । यसको लागि हामी सबैले पहलकदमी लिनुपर्छ । नेशनल आइडी हरेक क्षेत्रमा लागू गर्नुपर्छ ।’
सांसद शेर्पाले संविधान संशोधन एउटा प्रक्रियाबाट हुने बताए । उनले सत्तामा बस्ने शासकहरुले विधिको शासन चलाउनुपर्ने बताए ।