महेश बर्तौलाको दाबी- टिआरसी विधेयक पीडितमैत्री छ

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले टिआरसी (संक्रमणकालीन न्याय सम्बन्धी) विधेयक शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी आएको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सो दाबी गरेका हुन् । प्रमुख सचेतक बर्तौलाले सो विधेयक पीडितमैत्री रहेको पनि बताए । सशस्त्र द्वन्द्वकालका पीडितहरूले न्याय पाउने गरी सो विधेयकलाई दलहरूले सहमतिको आधारमा विषयगत समितिमा छलफल गरी प्रतिनिधि सभामा पेस गरिएको पनि स्मरण गराए । उनले नेपालको शान्ति प्रक्रिया निष्कर्षमा नपुगोस् भन्ने तत्त्वहरू रहेको भन्दै त्यसप्रति सजग रहनुपर्ने आवश्यकता पनि औँल्याए ।

प्रमुख सचेतक बर्तौलाले भने ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी हामीले यो विधेयक ल्याएका छौं । आज यहाँ जो कानुन प्रतिवेदनसहित पेस भएको छ । यसले पीडितलाई बेवास्ता गरेका छैन । सशस्त्र द्वन्द्वका सबै पीडितलाई यो कानुनले समेटेको छ । उसलाई न्यायको तहमा ल्याएको छ । अन्तर्राष्ट्रिय कानुनलाई यसले समेटेको छ । सुप्रिम कोर्टको अर्डरलाई यसले नजिरको रुपमा स्वीकार गरेको छ । सबै कुराहरू यसमा हामीले भनेका छौं । यो पीडितमैत्री छ । मुलुकमा शान्ति प्रक्रियामा निष्कर्षमा नपुगोस् भन्नेहरू पनि छन् । त्यसतर्फ सचेत रहनुपर्दछ ।’

प्रमुख सचेतक बर्तौलाले पीडित पक्ष, सर्वोच्च अदालतको अदालतको आदेश र अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरूले दिएको सुझावको आधारमा सो विधेयक आएकाले त्यसप्रति शङ्का गरिरहनु आवश्यक नभएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 8 =