संसदभित्रै लाग्यो मुर्दावादको नारा, डेडिकेटेड ट्रंकलाइन विवादमा पोखरेलले दिए स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले संसदभित्रै मुर्दावादको नारा लगाएका छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सभापति पोखरेलले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा आफ्नो चरित्र हत्या भएको भन्दै मुर्दावादको नारा लगाएका हुन् ।

सभापति पोखरेलले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा प्राप्त प्रमाण तथ्यहरु भएको भन्दै प्राप्त प्रमाण तथ्यहरुलाई कसैले असत्य प्रमाणित गरे टुडिखेलमा झुण्डिन तयार रहेको बताए ।

उनले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा अख्तियारमाथि पनि प्रश्न उठेको बताए । उनले अख्तियारलाई २०७६ सालमा सार्वजनिक लेखा समितिले गम्भिर विषयमा अध्ययन र विश्लेषण गरी कारबाही गर्नु भनेर दिएको निर्देशनलाई लामो समयसम्म छलफल नगरेको र कारबाही नगर्दा आज गम्भिर परिस्थितिको सिर्जना भएको बताए ।

उनले अख्तियार जस्तो संस्थाले पनि नेपाली जनताले बुझ्ने गरी राज्यप्रति जिम्मेवार भएर भ्रष्टाचार विरुद्धको अभियानमा लाग्नुपर्ने बताए । उनले डेडिकेटेड ट्रंकलाइन वक्यौताका तथ्य र प्रमाण रहेको भनाईलाई कसैले असत्य प्रमाणित गरिदिए टुडिखेलमा राखेर झुण्डिन तयार रहेको बताए ।

उनले भने– ‘डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा अख्तियार माथि पनि प्रश्न उठेको छ । अख्तियारलाई २०७६ सालमा सार्वजनिक लेखा समितिले यति गम्भिर विषयमा अध्ययन र विश्लेषण गरी कारबाही गर्नु भनेर दिएको निर्देशनलाई लामो समयसम्म छलफल गरेन र कारबाही नगर्दा आज गम्भिर परिस्थितिको सिर्जना भयो । अख्तियार जस्तो संस्थाले पनि नेपाली जनताले बुझ्ने गरी भन्न सक्नुपर्छ । राज्यप्रति जिम्मेवार भएर भ्रष्टाचार विरुद्धको अभियानमा लाग्नुपर्छ । डेडिकेटेड ट्रंकलाइन वक्यौताका तथ्य र प्रमाण छन् । मेरा भनाईहरु कसैले असत्य प्रमाणित गरिदिनुस् । असत्य प्रमाणित गरिदिए मलाई टुडिखेलमा राखेर झुण्ड्याउनुस् । म तयार छु । इमानको चरित्र हत्या गरेर भ्रष्टहरुको पक्षपोषण गर्ने सबैप्रति सिङ्गो संसदमा सबै नेपालीले सुन्ने गरी मुर्दावाद छ मुर्दावाद छ ।’

सभापति पोखरेलले विद्युत प्राधिकरणको १६ अर्ब छुट दिने क्रान्तिकारी हुने तर २२ अर्ब उठाउनुपर्छ भन्ने भ्रष्टचारी कसरी हुन्छ ? भन्दै प्रश्न गरे ।

उनले अघिल्लो सरकारले १६ अर्ब कुन सेटिङमा छुट गरिएको भन्दै प्रश्न गरे । उनले राज्यको यत्रो ठूलो सम्पती दुरुपयोग गर्न नमिल्ने भन्दै वक्यौता रकम उठाउनको लागि समिति लागि परेको बताए ।

उनले महालेखाले वक्यौता तिर भनेको २२ अर्बमा सार्वजनिक लेखा समितिमा छलफल नै नगरी १६ अर्ब छुट दिन नमिल्ने उल्लेख गरे । पोखरेलले आफूलाई विद्युतको वक्यौता महशुल उठाउनु पर्छ भन्दा भ्रष्टाचारीको आरोप लगाइएको बताए ।

तर माओवादीका मन्त्री हुँदा सरकार, विद्युत प्राधिकरण र व्यवसायीको मिलेमतोमा आयोग बनेर व्यवसायीलाई विद्युत महशुलमा छुट दिने काम गरिएको बताए । उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८१ वैशाख २७ गते सो निर्णय गरेको जानकारी दिए ।

उनले तत्कालीन सरकारले बनाएको आयोगले १६ अर्ब रुपैँया छुट दिएको बताए । तत्कालीन मन्त्रीपरिषद्को बैठकले एकै दिन दुई खालका निर्णय गरेर यस्तो काम गर्नुको पछाडि आर्थिक चलखेल भएको उनको भनाइ छ । नेपाल विद्युत प्राधिकरण भित्र व्यापक अनियमितता भएको उनले बताए ।

विद्युत प्राधिकरणले आफूलाई आवश्यक पर्ने भन्दा बढी सामान हेटौँडा र भक्तपुरमा किनेर थुपारेको पोखरेलले बताए । उनले आफूबाट एउटा टिपोर्ट बाहिरिएको विषयमा पनि स्पष्टीकरण दिए ।

व्यापारी र नेपाल विद्युत् प्राधिकरणको ‘दलाल’ले उक्त टिपोर्ट बाहिर ल्याएको भन्दै आरोप लगाए ।

उनले भने,‘माननीयहरू, जोजो चासो राख्नुभयो, त्यो टिपोर्ट दुई/तीनजना साथीभाईलाई दिएकोे हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई आफैँ दिएँ । मैले विश्वास गरेर दिएँ। योे टिपोर्ट चारजनामध्ये कसले पु¥याउनु भयो, थाहा छैन । मैले सोचिनँ नि, व्यापारी र प्राधिकरणको दलाल एकजना माननीय हुनुहुँदो रहेछ नि त ! मैले त सुझाव दिनुस् मित्र भनेँ ।’

जनताको प्रतिनिधि व्यापारी र प्राधिकरणको दलाल हुन नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *