मोरङको बेलबारीमा पोथी हात्ती मृत फेला

काठमाडौँ । मोरङको बेलबारीमा पोथी हात्ती मृत अवस्थामा फेला परेको छ ।
बेलबारी नगरपालिका– ३ करमडाँडामा रहेको रेखा र अनिता थापाको निजी वनभित्र अन्दाजी तीन–चार वर्षको देखिने पोथी हात्ती मृत फेला परेको हो ।
हात्ती मरेको अवस्थामा फेला परेपछि पोस्टमार्टमका लागि कोशीटप्पु वन्यजन्तु आरक्षणबाट विज्ञ टिम बोलाएको छ । पोस्टमार्टम रिपोर्टलाइ आधार मानेर अनुसन्धान गरी अन्त्येष्टि गर्ने बताइएको छ । मृत हत्ती तीन वर्षको भन्ने अनुमान गरिएको सबडिभिजन वन कार्यालय बेलबारीका अधिकृत राजेन्द्रकुमार घिमिरेले बताए ।

राति हात्ती आएर थाँग्रामा राखेको मकै, बारीमा लगाएको तरकारी खाइदिएको स्थानीय कल्पना राईले बताइन् । पछि हेर्दा मृत अवस्थामा देखेको उनको भनाइ छ ।
मोरङ बेलबारीको पूर्व–पश्चिम राजमार्ग उत्तर–दक्षिण क्षेत्रमा घना जंगल रहेको छ । यहाँ निरन्तर जंगली हात्तीहरू आएर बस्ने गर्दछन् । मोरङमा सात महिनाको अवधिमा तीन वटा जंगली हात्ती मृत फेला परिसकेका छन् ।
सुन्दरहरैँचा नगरपालिका–६ मा भाले जातको छावा गत जेठ ३० गते बिहान मृत भेटिएको थियो भने सुन्दरहरैंचा–१० स्थित जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिब १२ वर्षको जंगली हात्ती २०८० पुस १६ गते मृत फेला परेको थियो ।








