प्रधानमन्त्री ओलीले मेहनत गरिराखेको देख्दा खुसी लागेको छ : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीेले मेहनत गरेको देख्दा खुशी लागेको महामन्त्री थापाको टिप्पणी थियो ।

‘प्रधानमन्त्रीेले मेहनत गरेको देखिराखेको छु । खुशी लागेको छ । मन्त्रीजीहरुले शुरुमा खादामाला लगाउनुभएको भएपनि बिस्तारैबिस्तारै कार्य योजनाहरु बनाई राख्नुभएको छ । शुरुशुरुमा त्यस्तै हुन्छ । हामीलाई पनि त्यही थियो,’उनले भने,‘तर मेरो अनुभव छ । यो २४ महिनाका लागि मन्त्री हुनुभएको छ । यो समय भनेको सानो समय होइन । नौ महिनाको मन्त्री हुँदाको मेरो अनुभव छ । यो समय भित्र धेरै गर्न सकिन्छ । त्यसैले म सम्माननीय प्रधानमन्त्रीजीलाई त उहाँ भएको बेलामा नै भनौला ।’

उनले मन्त्रीहरुलाई भने २ वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने बताए । उनले कामको आधारमा मन्त्रीहरुको प्रशंसा र आलोचना दुवै गर्ने पनि बताए ।

मन्त्रीहरुले गलत काम गरे आफूले आलोचना गर्ने महामन्त्री थापाले बताए । उनले मन्त्रीहरुलाई आफ्नो कार्यकाल हेरेर कार्ययोजना बनाउन पनि सुझाव दिए ।

सरकारका मन्त्रीहरुलाई काम गर्नका लागि आफूले सदा साथ दिने महामन्त्री थापाले प्रतिवद्धता समेत व्यक्त गरे ।

‘म समाननीय सभामुखमार्फत सरकारमा रहेका मन्त्रीहरुलाई भन्न चाहन्छु–हामी सबैको शुभेच्छा छ । हाम्रो साथ छ । हामी आतुर छौं तपाईहरुलाई मद्दत गर्नका लागि । हामी कामको आधारमा प्रशंशा गर्न चाहन्छौ,’उनले भने,‘तर हामी प्रश्न पनि गर्छौ । गलत गर्न भयो भने हामी आलोचना पनि गर्छौं । यो २४ महिनामा एक महिना गयो । आफ्नो मन्त्रालयमा २४ महिना भित्र के गर्ने भनेर योजना बनाउनैपर्छ ।’

महामन्त्री थापाले एक महिनाको अवधिमा कार्ययोजना बनाउने काममा मन्त्रीहरुले समय व्यतित गरेको आफूले बुझेको उल्लेख गर्दै अब काममा तिब्रता दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =