‘बंगलादेशमा अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि भएको आक्रमणमा सरकार मौन बस्नुहुँदैन’

काठमाडौँ । बंलादेशमा अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि भएको आक्रमणबारे सरकार मौन बस्नु नहुनेमा सांसदहरूले जोड दिएका छन् । उनीहरुले बंगलादेशका पछिल्ला घटनाक्रमबारे संसदमा धारणा राख्दै सो बारेमा ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले सरकारले सो बारेमा आफ्नो धारणा बनाउनुपर्ने माग गरे । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्वीहरुमाथि भएको आक्रमणको विषय सरकार मौन बस्न नहुने बताए । मंगलवार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले अल्पसंख्यक हिन्दु तथा बौद्ध धर्मावलम्वीहरुमाथि भएको क्रूर आक्रमणको निन्दा गर्दै सरकार मौन रहेकोमा दुःख व्यक्त गरे ।
उनले बङ्गलादेशमा भएको ‘कु’ को मूल कारण व्यापक भ्रष्टाचार र शासकको निरंकुशता, अहंकार, दम्भ र प्रतिशोध भएको पनि दाबी गरे । सांसद केसीले भ्रष्टाचार सीमित समुदायमा स्रोत र साधनमाथिको एकाधीपत्य अन्यायपूर्ण वितरण प्रणालीले देशमा कसरी अनिश्चितता निम्त्याउँछ भन्ने बंगलादेशको घटनाले शिक्षा दिएको पनि बताए ।
बैठकमा नेकपा एमाले सांसद किरणकुमार साहले पनि बंगलादेशमा हिन्दुहरूमाथि भएको हिंसाका विषयमा मौन बस्न नहुने बताए । उनले छिमेकी बंगलादेशमा हिन्दुहरूमाथि अतिवादीहरूबाट भइरहेको आक्रमण असह्य हुने बताउँदै यसबारे सरकारले बोल्नुपर्नेमा जोड दिए । उनले नेपाल सरकारले बंलादेश सरकारलाई हिन्दुहरूमाथि भएको हिंसाका विषयमा कूटनीतिक माध्यमबाट ध्यानाकर्षण गर्नुपर्ने बताए ।








