हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखियो : सांसद गौतम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निरन्तर भइरहेको हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखिएको बताएकी छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताएकी हुन् । उनले हवाई दुर्घटनाको विषय छैटौँ पटक संसदमा विषय उठान भएपनि सरकारले अहिलेसम्म सुनुवाइ गर्न नसकेको बताइन् । उनले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको भन्दै तत्काल सरकारले समाधान गर्न आवश्यक रहेको बताइन् ।
उनले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनको लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्याउन आवश्यक रहेको भन्दै सरकारले तत्काले उक्त विधेयक ल्याउन जरुरी रहेको बताइन् । उनले सरकारमा पर्यटनमन्त्री पटक–पटक फेरिए पनि उक्त विधेयक संसदमा आउन नसकेको बताइन् ।
उनले यति एयरलाइन्स दुर्घटनाको अडियो सार्वजनिक भएको भन्दै उक्त अडियोबाट प्रस्टसँग लापरबाही भएको सुन्न सकिने बताइन् । उनले नियामक निकायको नियमन फेल भएकै कारण इयुको कालोसूचीमा पर्नु,आइकाओ अडिटमा कम नम्बर दिएको दाबी गरिन् । उनले हवाई सुरक्षाको निम्ति प्राविधिक रुपमा गर्नुपर्ने खर्च सरकारले नगर्दा पनि हवाई यात्रा असुरक्षित बन्दै गएको उल्लेख गरिन् ।
उनले भनिन् ‘हवाई दुर्घटनाको विषय आजसहित छैटौँ पटक उठान गरिरहेको छु । नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको छ । नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनको लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा अहिले छुट्याउने र त्यो विधेयक कहिले संसदमा लिएर आउनुहुन्छ । सरकारमा पर्यटनमन्त्री पटक–पटक फेरिनु भयो तर विधेयक संसदमा आएको छैन । यति एयरलाइन्स दुर्घटनाको अडियो सार्वजनिक भएको छ । त्यसमा प्रस्टसँग सुन्न सकिन्छ । लापरबाही भएको छ । हवाई यात्रामा कति यात्रुहरूले ज्यान गुमाउनुपर्ने हो । नेपालको नियामक निकायको नियमन फेल भएको प्रष्ट देखिएको छ । ‘
उनले नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा अहिले छुट्याउने विधेयक सांसदबाट पारित गरी नीतिगत रुपमा देखिएका त्रुटिहरूलाई समाधान गर्न सक्नुपर्ने बताइन् ।