अहिले नै संविधान संशोधन हुँदैन, दुई वर्ष कुर्नुपर्छ : डा.शेखर कोईराला
काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
आईतवार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोईरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताएका हुन् ।
उनले अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पारे । उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाई बहुमत चाहिने भएपनि सरकारको बहुमत नपुग्ने बताए । उनले दुवै सदनमा बहुमत पु¥याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताए ।
‘समावेशी चरित्रको संविधानलाई आगाध नपुग्नेगरी बनाऔँ भन्नेछ । संविधान अहिले नै संशोधन हुन्छ भन्ने कुरापनि दिमागबाट हटाइदिनुस्,’उनले भने,‘त्यो हुन सक्दैन भन्ने कुरा पनि हामीले बुझौँ । किन हुन सक्दैन भने प्रतिनिधि सभा र राष्ट्रिय सभा मिलाएर दुई तिहाई बहुमत चाहिन्छ । राष्ट्रिय सभामा यो सरकारको बहुमत पुग्दैन । दुई वर्ष कुर्नैपर्ने हुन्छ ।’
नेता कोईरालाले संविधान संशोधन गर्दा नेकपा(माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्ने बताए ।
उनले अहिलेको लडाईं प्रतिनिधित्व, पहिचान र पहुँचको लडाँइ भएको उल्लेख गर्दै संविधान संशोधनमा यो कुरालाई पनि बिचार पु¥याउनुपर्नेमा जोड दिए ।
उनले प्रतिनिधि सभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउनेगरी संविधान संशोधन गरिने बताए ।
‘संशोधन गर्दाखेरी संविधानलाई सुधार गर्ने क्रममा माओवादी लगायत अन्य राजनीतिक दलहरुलाई पनि हामीहरुले साथ लिएर जानुपर्छ । किनभने संविधान भन्नेकुरा नेपाली जनताको हो,’उनले भने,‘कुनै राजनीतिक दलको संविधान हुँदैन भन्ने कुरा हामीले बुझौँ । नेपाली जनताको संविधानलाई सबै राजनीतिक दलहरुले स्वीकार गरेको हिसाबले हामी जानुपर्ने हुन्छ ।’
उनले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनको लागि नेपाली कांग्रेस र नेकपा(एमाले) एक ठाउँमा उभिएका बताए ।
उनले नेपाली काँग्रेसका मन्त्रीहरुलाई पदबाट बाहिरिँदा निष्कलङ्क भएर निस्किन आग्रह गरेको पनि बताए ।