बलाधिकृत रथी सिग्देललाई प्रधानसेनापतिको कार्यभार

प्रधानसेनापति प्रभुराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधानसेनापति शर्माले भोलिदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधानसेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन् ।
मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५ औँ प्रधानसेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलिदेखि लागू हुने गरी रथी सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी यसअघि नै तोकिसकेका छन् ।
प्रधानसेनापति शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन् । प्रधानसेनापति अवकाश हुनु एक महिनाअघिदेखि घरबिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले कामु प्रधानसेनापतिको जिम्मेवारी पाएका हुन् ।
कार्यभार बुझबुझारथ समारोहमा प्रधानसेनापति शर्माले नेपाली सेनाको सबै तह र तप्कालाई राम्रो बुझेको, नीति, नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक र व्यावसायिक क्षमता भएका उत्तराधिकारीका रूपमा बलाधिकृत रथी सिग्देललाई कार्यभार बुझाउन पाएको भनी खुसी व्यक्त गरे । त्यस अवसरमा पूर्वप्रधानसेनापतिहरू, रक्षा मन्त्रालयका सचिव, रथीलगायत उपस्थित थिए ।
प्रधानसेनापति शर्माले आजै वीरगति प्राप्त सकल दर्जाको सम्मानमा वीर स्मारक छाउनी र सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जलीसमेत अर्पण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।








