साना दलको च्याँखे प्रवृत्तिलाई नियन्त्रण गर्न संविधान संशोधन : महेश बस्नेत

काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले साना दलहरूको नाममा भइरहेको च्याँखे प्रवृत्तिलाई नियन्त्रण गर्न संविधान संशोधन गर्न लागिएको बताएका छन् ।

बिहीवार राष्ट्रिय युवा संघ नेपालले संगठनको नयाँ इन्चार्जलाई स्वागत तथा पुरानो इन्चार्जलाई बिदाइ गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देशमा राजनीतिक स्थिरता दिनका लागि काँग्रेस–एमालेबीच सत्ता सहकार्य भएको बताए । उनले साना दलहरूको नाममा भइरहेको च्याँखे प्रवृत्ति र अराजक प्रवृत्तिहरूलाई नियन्त्रण गर्न संविधान संशोधन गरिने बताए । उनले एमाले र कांग्रेस चुनाव अगाडी अन्य दलहरूसँग सहकार्य नगर्ने कुरामा प्रतिबद्ध भएको पनि बताए ।

उनले निर्वाचन सँग सम्बन्धित कानुनहरूलाई संशोधन गरेर जाने बताए । उनले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

उनले भने ‘हामी संविधान संशोधनको एजेण्डासहित छलफल गरिरहेका छौँ । हामी राजनीतिक स्थिरता दिनेकुरा गरिरहेका छौँ । अब समावेशिताका विषयवस्तुलाई एमाले, कांग्रेसले कमजोर बनाउन आँटे भन्ने ढंगले प्रश्न उठाइएको छ । त्यो बिलकुल गलत कुरा हो । हामी समावेशिताका आधारहरू सुनिश्चित गरेर, राष्ट्रिय सभामा सुनिश्चित गर्न सकिन्छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा सुनिश्चित गर्न सकिन्छ । त्यो कुरा गर्नेतर्फ हामी सचेत छौँ । मूलभूत रुपमा साना दलहरूको नाममा भइरहेको च्याँखे प्रवृत्ति र अराजक प्रवृत्तिहरूलाई नियन्त्रण गर्नुपर्छ र कमसेकम एमाले र काँग्रेस चुनाव अगाडी अन्य दलहरूसँग सहकार्य नगर्ने र संविधान लगायत निर्वाचन सँग सम्बन्धित कानुनहरूलाई संशोधन गरेर जाने र मुलुकमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन दिने कुरामा प्रतिबद्ध भएर लागेका छौँ ।’  

कार्यक्रममा बोल्दै नेकपा (एमाले) का केन्द्रीय सदस्य राजिव पहरीले ०८४ सालको निर्वाचन अगाडीसम्ममा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए । उनले ०८४ को निर्वाचन पछि एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउने गरी पार्टी अघि बढेको बताए । उनले युवाहरूलाई सोही योजना अनुरूप परिचालन गरिने बताए ।

उनले भने – ‘हामी सम्पूर्ण रूपले केन्द्रित, सरकारले गरेका राम्रा कामहरूलाई आम जनताको बीचमा पु¥याउने र ०८४ को निर्वाचन भन्दा अगाडी नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्ति निर्माण गरेर ०८४ को निर्वाचनमा एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउने । त्यो गर्न सकियो भने मात्र समृद्धि र समाजवादको दिशातर्फ अगाडी बढ्न सक्छौँ । अब हाम्रो ध्यान सिंहदरबार, बालुवाटारमा होइन । हाम्रो सम्पूर्ण ध्यान युवाहरूको बीचमा हुनेछ । सबै परिचालित गरेर लाग्नेछौँ ।’

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले युवाहरूलाई सकारात्मक विचारसहित अगाडी बढाएमा देशको विकास र समृद्धि सम्भव हुने बताए । उनले युवाहरूलाई आत्मनिर्भरताको बाटोमा लानुपर्ने भन्दै आफ्नो कार्यकालमा एक हजार युवाहरूलाई उद्यमी बनाउने र ५० हजारलाई रोजगारी सिर्जना गर्ने बताए ।

उनले भने – ‘सकारात्मक सन्देशसहित, सकारात्मक विचारसहित युवाहरूलाई अगाडी बढायो भने नेपालको विकास र समृद्धि सम्भव छ । अब नेपाली युवाहरूलाई आत्मनिर्भरताको बाटोमा लानुपर्छ । उद्यमको बाटोमा लानुपर्छ । यो कार्यकालमा हामीले एक हजार उद्यमी जन्माउँछौ र ५० हजार रोजगारी दिन्छौँ । हामीले राज्यलाई भनेका छौँ, अब युवाहरूले उद्यमी बन्नका लागि सोच, विचार, कल्पना, योजना धरौटी राख्छौँ । अवधारणाको आधारमा राज्यले लगानी गर्छ र उद्यमी बनाउँछौँ । नेपालका युवाहरूलाई उद्यमी बनाउँछौँ ।’

उनले युवाहरूलाई उसको सोच र योजनालाई धरौटीको रुपमा राखेर राज्यले लगानी गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 17 =