टिआरसीमा भएको सहमतिले देशमा दिगो शान्तिको लागि बाटो दिन्छ : मन्त्री चौरसिया

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति जुट्नुले दिगो शान्तिको लागि बाटो दिएको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा दलहरूका बीचमा सहमति जुटेसँगै देशलाई दिगो शान्तिको बाटो दिएको बताएका हुन् । उनले दलहरूका बीचमा भएको सहमति अनुरूप आएको विधेयक पीडितमैत्री भएको बताए ।
उनले भने ‘सङ्क्रमणकालीन न्यायको कुरा गर्दा सर्वोच्च अदालतले उठाएका विषयहरूलाई यस कार्यदलले सम्बोधन गरेको छ । मानव अधिकारको उल्लङ्घन र गम्भीर उल्लङ्घनको सवालमा, पीडितलाई न्याय दिनको लागि गल्ती गर्नेलाई सजाय दिनेकुरा, स्वतन्त्र सहमतिपछि पीडितलाई परिपूरण गर्ने कुरा लगायतका विविध सवालमा यो कार्यदलले मेहनत गरेर कानुनलाई अन्तिम रूप दिने प्रयास गरेको छ । यो विधेयकमा जे–जे सहमति भएको छ, यो पीडितमैत्री छ । यसले पीडितलाई न्याय दिन्छ ।’
उनले विधेयकले पीडितलाई न्याय दिने बताए । उनले विधेयकले सर्वोच्च अदालतले उठाएको विषयलाई समेटिएको बताए । त्यस्तै मानव अधिकारको उल्लंघन र मानव अधिकारको गम्भीर उल्लंघन, पीडितलाई परिपूरण दिने लगायतका सबै विषय पीडितमैत्री भएर आएको बताए ।
उनले भने ‘स्वतन्त्र सहमति नभएको विषयमा कारबाहीको सिफारिस गर्ने टिआरसीले, त्यसमा पनि सहमति नभएको अवस्थामा जानकारी गराउने र पीडित पक्ष न्यायालयमा पनि जान सक्छ । र सरकारले पीडितहरूलाई परिपूरण गर्दा क्षतिपूर्ति लगायतका सबै कुराहरू दिन्छ । लामो समयदेखि द्वन्दमा रहेका यो देशलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र द्वन्द्व पक्ष माओवादी पार्टीका अध्यक्षसमेतले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने अठोट गरेको कारण आज १८ वर्षपछि यो कानुनमा सहमति भएको छ । यसले देशलाई दिगो शान्तिको लागि बाटो दिन्छ । पुनः यस्ता घटनाहरू यो देशमा नहुन भन्ने प्रयासहरू भइरहेको छ ।’
मन्त्री चौरसियाले देशमा पुनः द्वन्द्व हुन नदिनका लागि प्रयास भइरहेको बताए ।








